काठमाडौं । नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरुमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो । दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तरमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।
हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नम्बर ७ मा नयाँ ४जी एलटीई टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतका अनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नम्बर ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यता डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहिबारदेखि सञ्चालनमा आएको जानकारी दिए । योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका उनले उल्लेख गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार, कुना कन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो ।
यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । त्यतिमात्र हैन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेबाटै बझाङको तलकोटमो पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको थियो । गत असोज ३१ गते नै दार्चुचालको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको छ । जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चारमन्त्रीको ताकेतापछि सूचारु भएको थियो ।
सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रहरुमा उक्त सेवाको पहुँच पु¥याउन लागिपरेको बताए। उनले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिए ।सुदूरपश्चिम प्रदेशको बिकट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सुचारु भएको छ । बुढीनन्दका विभिन्न वडा मात्रै नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीहरूमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन् ।
यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेला मात्रै चल्ने गरेको गुनासो स्थानीयहरूले गर्दै आएका थिए । नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार, र पारिवारिक सन्देश आदान–प्रदान सहज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । अर्थात् गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगकर्ता एक करोड ४३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।
प्राधिकरणका अनुसार हाल फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड) ४८ दशमलव ८२ प्रतिशत जनसंख्यामा पुगेको छ । साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भएको छ । मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिसत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ ।
नेपाल टेलिकमले हाल सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानहरूमा नयाँ टावर जडान र पुराना टावरहरू अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । यस्तै डोल्पाको दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्का लगायतका बस्तीहरूमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । टावर बनेसँगै सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको बताइएको छ ।
निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलले पनि गुणस्तर सुधार र सेवा विस्तारमा आक्रामक रुपले अघि बढेको छ । विशेषगरी मधेश र कोशी प्रदेशलाई प्राथमिकतामा राखी आगामी पुसभित्र २०० वटा टावर विस्तार गर्ने लक्ष्य अनुरुप हालसम्म ४५ वटा टावर जडान गरिसकेको कम्पनीले जनाएको छ । हाल एनसेलको फोरजी सेवा विभिन्न दुर्गम क्षेत्रसहित ९५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भइसकेको छ भने ९२ प्रतिशत भन्दा बढीमा टुजी सेवा छ ।
यसैबीच दाङको केही स्थानहरुमा टेलिफोन र इन्टरनेट सेवा नभएको विषयबारे गुनासो आएपछि सञ्चारमन्त्रीले तत्कालै टेलिकमका कर्मचारीलाई निर्देशन दिएलगत्तै टेलिकमको डिभिजन कार्यालयका प्रमुख वरिष्ठ इन्जिनियर प्रविण चौधरी नेतृत्वको प्राविधिक टोली फिल्डमा खटिएर मर्मत गरेको थियो । घोराही उपमहानगरपालिका ३ र ५ का केहि क्षेत्रमा देखिएको नेटवर्क समस्या समाधान भएको थियो । टेलिकम तुल्सीपुर दाङले फोरजी नेटवर्क सुधार गरेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्