काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीको नाफामा सामान्य सुधार आएको छ ।
बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले १ अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका छन् । त्यो नाफा गत आवको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
१४ बीमा कम्पनीमा तीन वटाको नाफा घटेकोे भने बाँकी ११ कम्पनीको नाफा बढेको छ । सबैभन्दा बढी नाफा आर्जन गर्नेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको तीन महिनामा २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २९.६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ९३ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
धेरै नाफा कमाउने दोस्रो कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको नाफा ४४.०२ प्रतिशतले बढेर २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । नाफामा रिलायबल र सन नेपाल लाइफको प्रतिस्पर्धा देखिएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको नाफा चालु आवको पहिलो त्रैमासमा ४.९४ प्रतिशतले बढेर २१ करोड ५५ लाख, आइएमई लाइफको नाफा ९.१७ प्रतिशतले बढेर १५ करोड ८३ लाख, एशियन लाइफको नाफा १४.७० प्रतिशतले बढेर १५ करोड २५ लाख, सानिमा रिलायन्सको नाफा १२.५३ प्रतिशतले बढेर १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै नेशनल लाइफको नाफा १.८१ प्रतिशतले बढेर १४ करोड ८ लाख, सिटिजन लाइफको नाफा ०.४३ प्रतिशतले बढेर १३ करोड १४ लाख, सूर्यज्योति लाइफको नाफा ११ प्रतिशतले बढेर १२ करोड ८० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ३७.४७ प्रतिशतले बढेर १० करोड ८३ लाख र मेट लाइफको नाफा ०.६८ प्रतिशतले बढेर ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
यस्तै हिमालयन लाइफ इन्स्योरेन्सले ४९.६५ प्रतिशतले बढेर १२ करोड ७७ लाख, प्रभु महालक्ष्मी लाइफको नाफा ४९.४८ प्रतिशतले बढेर ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४६.५४ प्रतिशतले घटेर १२ लाख १२ हजार रुपैयाँमा सिमित भएको छ ।









प्रतिक्रिया दिनुहोस्