काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकको लगानी माथिको प्रतिफल (आरओई) औसत ६.४० प्रतिशतमा सीमित भएको छ । वित्तीय प्रणालीका मेरुदण्ड मानिने वाणिज्य बैंकहरूको लगानी योग्य प्रतिफल ‘रिटर्न अन इक्विटी’ (आरओई) निरन्तर घट्दै गएको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुको आरओई अघिल्लो आर्थिक वर्षको तुलनामा औसत २.८१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा वाणिज्य बैंकको आरओई औसत ९.२१ प्रतिशत रहेको थियो । त्रैमासिक विवरण अनुसार अधिकांश वाणिज्य बैंकको आरओई एकल अंकमा झरेको छ भने एक बैंकको आरओई ऋणात्मक रहेको छ ।
यस अवधिसम्म आउँदा सिटिजन्स बैंकको आरओई ३.७९ प्रतिशत ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा यस बैंकको आरओई ३.५९ प्रतिशत रहेको थियो । यसैगरी, कृषि विकास बैंकले आफ्ना लगानीकर्तालाई कुनै पनि प्रतिफल दिन सक्ने अवस्था छैन । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस बैंकको प्रतिफल २.०१ प्रतिशत रहेको थियो ।
यस अवधिसम्म आउँदा तीन वाणिज्य बैंकको आरओई १ प्रतिशतभन्दा तल रहेको छ । यस अवधिसम्म आउँदा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लगानी माथिको प्रतिफल १ प्रतिशतभन्दा तल झरेको हो ।
चालु आवको पहिलो त्रैमाससम्म आउँदा एनआईसी एसिया बैंकको आरओई १.६२ प्रतिशत रहेको छ । यस बैंकको आरओई गत आर्थिक वर्षको तुलनामा केही बढेको छ । गत आर्थिक वर्षमा बैंकको प्रतिफल क्षमता १.४३ प्रतिशत रहेको छ ।
चालु आवको पहिलो त्रैमाससम्म आउँदा सबैभन्दा धेरै आरओई भएका बैंकमा प्राईम बैंक र एभरेष्ट बैंक रहेका छन् । यी बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशतको प्रतिफल दिन सक्ने क्षमता रहेको छ । यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल बैंकको आरओई १२ प्रतिशतभन्दा धेरै रहेको छ ।
एनएमबि बैंक र कुमारी बैंकको प्रतिफल क्षमता ११ प्रतिशत रहेको छ । ग्लोबल आइएमई बैंक र नबिल बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशतको हाराहारीमा प्रतिफल वितरण गर्न सक्ने क्षमता रहेको छ ।







प्रतिक्रिया दिनुहोस्