Skip to content

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जामध्ये ८५.४७ प्रतिशत सेवा क्षेत्रमा प्रवाह

nabil bank

काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ४७५ रहेको छ । यस्तै, शाखारहित बैंकिङ सङ्ख्या १८ रहेको छ । यो प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ६६.८५ प्रतिशत रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार आव २०८१/८२ मा यस प्रदेशमा विद्युत् प्रसारण लाइन ३ हजार ५७५.७४ सर्किट किलोमिटर पुगेको छ । कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणकार्यले गति लिइरहेको छ ।

कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले घटेको हो । प्रदेशमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौँले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत, ४.१६ प्रतिशत, ४.८६ प्रतिशत, ११.५२ प्रतिशत र १.३९ प्रतिशतले घटेको छ ।

तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा १४.९१ प्रतिशतले ह्रास आएको छ भने फलफूल बालीले ढाकेको क्षेत्रफल २.४० प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा कर्णालीमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा ५.०१ प्रतिशतले घटेको छ । जसअन्तर्गत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन तीन दशमलव ९५ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान १०.२५, गहुँ १७.३१, कोदो २२ दशमलव ९२ र जौँको उत्पादन आठ दशमलव ५५ प्रतिशतले घटेको छभने मकैको उत्पादन चार दशमलव २४ प्रतिशतले बढेको छ । आव २०८१÷८२ को असार मसान्तसम्ममा तरकारी उत्पादन र फलफूलखेतीको उत्पादन क्रमशः ०.८८ र ३६.४१ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको आठ दशमलव शून्य दुई प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा सात दशमलव ७० प्रतिशतले कम हो ।

समीक्षा वर्षमा प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत रहेको छ । बिजुलीका तार र केबल उत्पादनसम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत रहेको छ । गलैँचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३ दशमलव शून्य आठ प्रतिशत छ । समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा एक दशमलव ९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको छ दशमलव ५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ ।

यो प्रदेशमा भित्रिने पर्यटकको सङ्ख्या १.७२ प्रतिशतले वृद्धि भएको छ । भारत र चीनबाट भित्रिने पर्यटकको सङ्ख्या क्रमशः २३.८५ र २५.७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या ९.१३ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime