काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब १५ अर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट ९३ अर्ब ४९ लाख ५७ हजार रुपियाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।
चार महिनाको अवधिमा विदेशबाट ६ खर्ब ९ अर्ब, ४५ करोड १२ लाख रुपियाँको वस्तु आयात भएको छ । यो आयात गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १८.७१ प्रतिशतले बढी हो । पोहोर चार महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चार महिनाको तथ्यांक अनुसार कात्तिकमा सबैभन्दा कम वस्तु आयात भएको छ । कात्तिकमा १ खर्ब ४१ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको विभागले उल्लेख गरेको छ ।
यसेगरी, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड र साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । आयात भएका मूख्य वस्तुहरुमा कच्चा सोयाविन,डिजेल, पेट्रोल, जस्ता वस्तुहरुको आयातको व्यापार घाटा चुलिएको हो ।
यसैगरी, निर्याततर्फ पनि सोयाविन तेल, अलैची, कार्पेट, सूर्यमुखी तेलजस्ता वस्तुहरु बढी निर्यात भएको तथ्यांक रहेको छ । सोही अवधिमा नेपालले वस्तु आयात वापत १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख रुपियाँ राजश्व संकलन गरेको छ ।






प्रतिक्रिया दिनुहोस्