पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व सकलन गर्ने लक्ष्य निर्धारण गरे पनि यो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।
चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताए ।
“चालु आवको तीन महिनामा राजस्व संकलन लक्ष्य उन्मुख भइरहेको थियो”, उनले भने, “कात्तिक महिनामा २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।”
वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौ महिनामा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।






प्रतिक्रिया दिनुहोस्