Skip to content

दुर्गा प्रसाईँको अराजकताले बैंकिङ क्षेत्रको ऋण असुलीमा समस्या, निष्क्रिय कर्जा थप बढ्ने संकेत

nabil bank

घटना–१

कात्तिक ३० गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ताले एनआईसी एसिया बैंकको बुटवल शाखाले लिलाम गरेको सम्पत्ति हडपे । बैंकले ४० करोड पर्ने सम्पत्ति १० करोड रुपैयाँमा लिलाम गरेको आरोप लगाउँदै उक्त जग्गा हडपेका हुन् ।

घटना–२

२०८१ वैशाखमा प्रसाईँका कार्यकर्ताले झापामा दुई बैंकमा तोडफोड गरेका थिए ।

प्रसाईँले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत बिर्तामोडमा भएको र्यालीको क्रममा आक्रोशित एक समूहले बैंकमा ढुङ्गा प्रहार गरेर तोडफोड गरेका थिए । तत्कालीन समयमा नागरिक युवा दस्ताले निकालेको थियो । त्यही र्यालीमा सहभागीमध्ये केहीले बिर्तामोडमा रहेको एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखामा ढुङ्गा प्रहार गरेका थिए ।

घटना–३

२०८० मङ्सिरमा प्रसाईँका कार्यकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीलाई अपहरणको प्रयास गरेका थिए । आफूलाई प्रसाईँको कार्यकर्ता बताउने उनीहरूले बैंकले कर्जा नदिएको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई कार्यकक्षबाट अपहरणको प्रयास गरेका थिए । अपहरण गर्न खोजेपछि दुर्गा प्रसाईँका कार्यकर्तालाई उक्त सयमा प्रहरीले पक्राउ गरेको थियो ।

माथि उल्लेखित तीन वटा घटना उदाहरण मात्रै हुन् । प्रसाईँ आफैले पनि बैंक तथा वित्तीय संस्थाप्रति पटक–पटक धावा बोल्दैन आएका छन् । बैंक तथा वित्तीय संस्थाप्रति विद्वैश फैलाउने अभिव्यक्ति दिइनै रहेका छन् ।

उनको अभिव्यक्तिले आजित बनेका बैंकिङ क्षेत्रलाई केही दिन अघि उनैले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान नामक संस्थाको पत्र मार्फत चन्दा नै मागियो । यद्यपि प्रसाईँले सरकारप्रति लिएको अभिव्यक्तिका कारण गत साता प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रसाईँ आईतबार हिरासत मुक्त भएका छन् ।

मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गर्दै प्रसाईँको समूहले बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, उद्योग, व्यवसायमा चन्दा गरेको थियो । यद्यपि, प्रसाईँका कार्यकर्ताले गर्न आन्दोलन भने स्थगन भएको छ । प्रसाईँका कार्यकर्ताले देशव्यापी रूपमा गर्न लागिएको आन्दोलनलाई सहयोग गर्न भन्दै बैंकिङ क्षेत्रबाट चन्दा उठाउने पत्रमा लेखेको थियो । यो पत्रले बैंकिङ क्षेत्रलाई निकै त्रसित बनाएको थियो । बैंक विरुद्ध धावा बोल्ने प्रसाईँले पत्र पठाएपछि बैंकहरु चन्दा दिने वा नदिने तनावमा थिए ।

प्रसाईँका यस्ता विभिन्न गतिविधिले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाको ऋण असुलीमा समेत अवरोध भइरहेको छ । प्रसाईँ नेतृत्वको आन्दोलन र त्यससँग जोडिएका अराजक घटनाले बैंकिङ क्षेत्र थप संकटतर्फ धकेलिएको बैंकरहरुको गुनासो छ । पछिल्लो केही समयमा उनका समर्थकद्वारा बैंकका शाखामा तोडफोड, कर्मचारीलाई धम्की र ऋणी संरक्षणको नाममा दबाबले बैंकहरूको ऋण असुली प्रक्रियामा नै गम्भीर असर परेको नाम उल्लेख नगर्ने सर्तमा बैंकरहरु बताउँछन् ।

प्रसाईँका कार्यकर्ताले गरिरहेको यो अराजकताको बारेमा प्राय बैंकरहरु बोल्न चाहँदैनन् । प्रसाईँको अभिव्यक्ति र क्रियाकलापले गर्दा बैंकिङ क्षेत्रले एक खालको ‘थ्रेट’ अनुभूत गरिरहेको छ । ‘अहिले हामीले प्रसाईँको बारेमा केही बोल्छौँ’ एक बैंकर भन्छन्, ‘भोली उनका कार्यकर्ता आएर बैंक माथि नै थ्रेट पैदा गर्छन् ।’

अहिलेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै बैंकरहरु प्रसाईँको ज्यादतीका विरुद्ध बोल्न चाहँदैनन् । तैँ चुप मैँ चुपको स्थितिमा छन् ।

अहिले बैंकिङ क्षेत्र निष्क्रिय कर्जाको पासोमा परेको बेला प्रसाईँको नामले झन् बैंकिङ क्षेत्रलाई थप संकट तर्फ धकेलेको बैंकरहरुको बुझाई छ । हाल बैंकिङ क्षेत्रमा बढ्दो निष्क्रिय कर्जाको रेसियो प्रसाईँको अराजकताले झन् बढ्ने अवस्थामा पुगेको छ । कोरोनाका कारण अर्थतन्त्रमा देखिएको सुस्ततापछि उठ्दै गरेको बैंकिङ क्षेत्रलाई प्रसाईँको अभिव्यक्ति र उनका कार्यकर्ताले गरेको व्यवहारका कारण झन् पछाडि धकेलेको बैंकरहरुको भनाइ छ ।

‘कोरोनाको कारण थलिएको अर्थतन्त्रबाट मुलुक सामान्य अवस्थामा आउन खोज्दै थियो’ एक बैंकर भन्छन् ‘तर, अहिले भएको विभिन्न आन्दोलन तथा निजी क्षेत्र माथिको प्रहारले फेरि मुलुकलाई पछाडि धकेलिरहेको त छदै छ, यसमा वित्तीय क्षेत्र माथि गरिएको प्रहारले मुलुकलाई झन् संकट तर्फ लैजाने देखिन्छ ।’

ती बैंकरका अनुसार बैंकको ऋण असुली कमजोर बन्नु मुलुकको अर्थतन्त्र नै कमजोर बन्नु हो । ‘ प्रसाईँको नाम लिएर उनको कार्यकर्ता हो भन्दै एनआईसी एसिया बैंकको बुटवल शाखाले लिलाम गरेको सम्पत्ति खुलेआम रूपमा नै हडप्ने कोसिस गरे’ ती बैंकर भन्छन्, ‘तर, त्यहाँ कुनै पनि सरकारी निकायले कारबाही गरेको देखिएको छैन । यसले पैसा भएर ऋण तिर्ने मान्छेको मनोबललाई पनि तिर्दिन भन्ने बनाएको छ ।’

प्रसाईँ समूहद्वारा ऋण नतिर्न उक्साहट, बैंकको ऋण तिर्नु पर्दैन भन्ने प्रचार तथा विरोध कार्यक्रममा बैंकहरूलाई सार्वजनिक रूपमा बदनाम गर्ने गतिविधिले धेरै ऋणीले किस्ता रोक्ने गरेको बैंकहरू बताउँछन् ।

उनीहरूको विभिन्न गतिविधिले कानुनी प्रक्रियालाई चुनौती दिएका कारण ऋण असुली दर झनै घटेको छ । ‘पहिले नै आर्थिक मन्दीका कारण कर्जा असुली कमजोर भएको थियो, अहिले धम्की र दबाबका कारण कर्मचारी फिल्डमा जान डराउँछन्’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।

प्रसाईँका कार्यकर्ताले विगतमा गरेको अराजकताको बारेमा पोलिसमा गएको भएता पनि हाल पुलिसमा उनले बैंकिङ क्षेत्र माथि गरेको गतिविधिको कुनै पनि उजुरी नपरेको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्म तथ्यांक अनुसार अहिले बैंकिङ क्षेत्रको औसत ब्याजदर ५.२६ प्रतिशत छ । चालु आवको तीन महिनामा वाणिज्य बैंकको निष्क्रिय कर्जा औसत ५.०५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकको निष्क्रिय कर्जा औसत ४.२८ प्रतिशत थियो । एक वर्षमा वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.७५ प्रतिशत बढेको छ ।

यसैगरी, एक वर्षमा विकास बैंक तथा वित्तीय क्षेत्र तर्फको निष्क्रिय कर्जा पनि बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको तीन महिना विकास बैंक तर्फको निष्क्रिय कर्जा औसत ६.०३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस क्षेत्रको निष्क्रिय कर्जा १‍.६६ प्रतिशतले बढेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमाससम्म आउँदा वित्त क्षेत्रको निष्क्रिय कर्जा १२.५२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकको निष्क्रिय कर्जा १०.८४ प्रतिशतमात्र रहेको छ । एक वर्षमा बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा १.६८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

देशमा यस्तै आन्दोलन बढ्दै गए यसले आगामी दिनमा बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा अझ बढ्ने बताइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime