काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभिन्न पदमा बसेर काम गरेको व्यक्ति रिटायर्ड भएपछि वाणिज्य बैंक ताक्ने क्रम रोकिएको छैन । यो नयाँ प्रचलन भने होइन ।
धेरै पहिलादेखि नै राष्ट्र बैंकमा कार्यकारी निर्देशक, निर्देशक, उप–निर्देशक भएका व्यक्तिहरु जागिरे जीवन सकिएपछि वाणिज्य बैंकमा कहिले स्वतन्त्र सञ्चालक त कहिले सञ्चालकको रुपमा जाने गरेका छन् । हाल नेपालमा २० वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन् ।
जसमध्ये ९ वटा बैंकमा ११ जना सञ्चालक तथा अध्यक्ष रहेका छन् । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, निर्देशक तथा उप निर्देशकहरु नबिल बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेका छन् ।
अन्य बैंकमा सञ्चालक छन् भने लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष नै राष्ट्र बैंकका पूर्व कर्मचारी रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन भने लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल पूर्वनिर्देशक हुन् ।
नबिल बैंकमा सञ्चालक रहेकी सरिता भट्ट अधिकारी नेपाल राष्ट्र बैंककी पूर्वकार्यकारी निर्देशक हुन् । उनी हाल नबिल बैंकमा स्वतन्त्र सञ्चालक रहेकी छिन् ।
यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्ट नेपाल एसबिआई बैंकमा स्वतन्त्र सञ्चालक रहेका छन् । नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक मुकुन्द महत अहिले माछापुच्छ्रे बैंकमा सञ्चालक रहेका छन् ।
सानिमा बैंकको सञ्चालकमा भने ३ जना नै राष्ट्र बैंकका पूर्व कर्मचारी छन् । यो बैंकको सञ्चालनमा राष्ट्र बैंकका पूर्व कर्मचारीको निकै राम्रो बोलवाला रहेको छ । यो बैंकको सञ्चालकमा राष्ट्र बैंकका पूर्व निर्देशकदेखि कार्यकारी निर्देशकसम्म रहेका छन् ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला स्वतन्त्र सञ्चालक रहेका छन् । यस्तै पूर्व कार्यकारी रमेश कुमार पोखरेल र पूर्व निर्देशक बलराम पराजुली सन्चालक रहेका छन् ।
यसअघि पराजुली बैंकमा स्वतन्त्र सञ्चालक थिए । अहिले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक रहेका छन् ।
राष्ट्र बैंकमा कार्यकारी निर्देशक भएर बाहिरिएका नारायण प्रसाद पौडेल अहिले ग्लोबल आइएमई बैंकको सञ्चालक रहेका छन् ।
यस्तै सिटिजन्स बैंकमा सञ्चालक रहेका डा. विनोद आत्रेय पनि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नै हुन् ।
राष्ट्र बैंकमा उप निर्देशकबाट जागिरे जीवन पुरा गरेका गोविन्द प्रसाद भट्टराई अहिले कृषि विकास बैंकको सञ्चालकमा रहेका छन् ।
उनी २०७३ सालमा सर्वसधारण सेयरधनीको तर्फबाट सञ्चालक थिए । उनी अहिले पनि स्वतन्त्र सञ्चालक रहेका छन् । उनी पटक पटक बैंकमा सञ्चालक बन्दै आएका छन् ।
बैंकका सञ्चालकको काम भने बैंकलाई कसरी सञ्चालन गर्ने, बैंकले कस्तो नीति लिने भन्ने निर्णय गर्छ । उनीहरुले बनाएको नीति अनुसार बैंक सञ्चालन हुन्छ । बैंकले बनाएको नीतिमा राष्ट्र बैंकले पनि सुक्ष्म रुपमा हेरिरहेको हुन्छ ।
राष्ट्र बैंकको उच्च पदमा रहेर काम गर्दा त्यहाँ भित्रका सबै विषय सुक्ष्म रुपमा बुझेका हुन्छन् । उनीहरुले राष्ट्र बैंकमा कस्तो समन्वय गर्छ भन्ने विषय पेचिलो बन्ने बैंकरहरुको बुझाइ छ । साथै उनिहरुको स्वार्थको द्वन्द कति देखिने हो भन्ने अर्को प्रश्न पनि टड्कारो रूपमा रहेको छ ।
उनीहरुले राष्ट्र बैंकबारे धेरै बुझेको हुन्छ । के गर्दा राम्रो, के गर्दा नराम्रो हुन्छ भन्ने बुझेको मान्छेलाई सञ्चालक समितिमा लैजानु कत्तिको राम्रो हो भन्ने प्रश्न उठ्ने गरेको छ ।
यता नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल बैंकिङ क्षेत्र बुझेको, सबै ऐन कानून बुझेको, देशको अर्थतन्त्र बुझेको व्यक्ति बैंकमा सञ्चालक हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । वाणिज्य बैंकको सञ्चालक हुन् राष्ट्र बैंक ऐन, बाफियाले नरोक्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०६ क मा वाणिज्य बैंक वा वित्तीय संस्थामा काम गर्न नहुने भन्ने व्यवस्था रहेको छ । दफा १०६ क को उपदफा २ मा ‘डेपुटी गभर्नर र बैंकका कार्यकारी निर्देशक आफ्नो पदबाट हटेको वा अवकास पाएको मितिले तीन वर्षसम्म र बैंकको अधिकृत स्तरको कर्मचारी आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले २ वर्षसम्म कुनै पनि वाणिज्य बैंक वा वित्तीय संस्थामा कुनै पनि हैसियतमा रही काम गर्न हुँदैन’ भन्ने व्यवस्था छ ।
ढकाल २०८२ साउन २ गते राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्षमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
साथै यस उपदफामा तोकिएको समयावधि पुरा भएपछि कुनै पनि वाणिज्य बैंक वा वित्तीय संस्थामा कुनै पनि हैसियतमा रही काम गर्नको लागि सम्बन्धित डेपुटी गभर्नर, कार्यकारी निर्देशक वा अधिकृतले बैंकको पूर्व स्विकृति लिनु पर्नेछ’ भन्ने उल्लेख छ ।
हालका गभर्नर प्रा.डा.विश्वनाथ पौडेल पनि पहिला सानिमा बैंकका सञ्चालक नै हुन् । यस्तै नेपाल राष्ट्र बैंकको सञ्चालन बोर्ड पनि पूर्व कर्मचारी क्लब जस्तै भएको छ । राष्ट्र बैंकका सञ्चालकहरु चिन्तामणी शिवाकोटी, डा.शंकर प्रसाद आचार्य, डा. रविन्द्र प्रसाद पाण्डे पूर्व कार्यकारी निर्देशक हुन् ।






प्रतिक्रिया दिनुहोस्