काठमाडौं । १२७ वर्ष पुरानो घर । कतिपय मानिसलाई यो सुन्दा अचम्म लाग्न सक्छ । तर सत्य के हो भने १२७ वर्ष पुरानो घर मात्रै होइन की, त्यही घरमा होमस्टे पनि छ ।
हरियाली पहाडको बीचमा अवस्थित कोंन्ज्योसोम । सुन्दर, शान्त र मौलिक बस्ती । वरिपरी तामाङ बस्ती । जहाँ अझै पनि परम्परागत शैलीका घरहरु छन् । आधुनिकताले नछोएको होइन । आधुनिक घर भन्दा निकै चिटिक्क देखिने १२७ वर्ष पुरानो घर । अनी त्यही घरमा ‘१७ झ्याले होमस्टे’ ।
दूरीको हिसाबले धेरै टाढा पनि छैन । राजधानीको धुवाँ, धुलोमा दिक्क भएकालाई एक रात कतै सुन्दर, शान्त, हरियाली ठाँउमा गएर बसौन त भन्ने हो भने यो उपत्यकाबाट नजिकैको गन्तव्य हो ।
सातदोबाटोबाट २२ किलोमिटरको यात्रा तय गरेपछि पुगिन्छ, ललितपुर जिल्लाको कोंन्ज्योसोम गाँउपालिका–५ भारदेउ । दुरीमा उपत्यकाबाट नजिकै हो तर, विकासका दृष्टिकोणले विकट भन्दा फरक पर्दैैन । उपत्यकाबाट नजिकैको पर्यटकीय यो गन्तव्यमा नपुगेको भनेको विकास निर्माण मात्रै हो । पर्यटकीय दृष्टिकोणबाट सबै छ ।
१२७ वर्ष पुरानो घर, आफैमा एक इतिहास हो । यो घरको अवलोकन गर्दै त्यही घरमा भएको १७ झ्याले होमस्टेको बास… । मनै लोभ्याउने प्रकृतिको सुन्दरता । यहाँ एक पटक पुगेर फर्केको जो कोहीलाई पनि पुनः दोहोर्याएर जाँउ जाँउ लाग्छ । किनभने यहाँको वातावरण, हावापानी, प्राकृतिक मनोरम, मन्दिर, गुफा, झरना । यी सबैले तानेपछि कसलाई यहाँ पुनः फर्किन मन नलाग्ला र ? त्यती मात्रै कहाँ हो र आँखै अगाडी करिब १ दर्जन हिमाल हेर्ने अवसर । हिउँदमा परेको हिँउको रमाइलो लिन कोही चाहन्छ भने त्यसमा पनि कुनै समस्या छैन ।

वि.स १९९०, २०४५ र २०७२ मा गएका ठूला शक्तिशाली भूकम्पले अलिकति पनि नचर्नेको घरले पर्यटकको ध्यान तानिरहेको छ । स्थानीय लालकाजी मोक्तानका पुर्खाले दाप्चाबाट ल्याएको झ्याल डिजाइनको आधारमा बनाएको यो घर अहिले पनि उस्तै छ ।
यहाँ १२७ वर्ष पुरानो घर मात्रै नभएर ऐतिहासिक गुप्तेश्वर गुफा, कोंज्योसोम प्रतिमा, कोंज्योसोम झरना, तामाङ पदमार्ग, फूलबारी (कोन्ज्योसोम) डाँडा रहेका छन् । यी भनेका आन्तरिक तथा बाह्उ पर्यटकको मन लोभ्याउने स्थान हुन् ।
यो डाँडामा त्रिदेव प्रतिमा (कोंज्योसोम प्रतिमा) राखिएको छ । यहीबाट आँखै अगाडी करिब एक दर्जन हिमाल देख्न सकिन्छ । विश्वको सर्वोच्च शिरख सगरमाथाका साथै गौरीशंकर, गणेश, मनास्लु, माछापुच्छे्र, धौलागिरि, जुगल लगायतका हिमाल देख्न सकिन्छ । जसले गर्दा अहिले बिदाको समयमा यहाँ पर्यटन निकै पुग्ने गरेका छन् । विस्तारै होमस्टेहरु भरिन थालेका छन् ।
यहाँ स्थापना गरिएको प्रतिमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आकर्षणको केन्द्र बनेको छ । यहाँका स्थानीय पनि दुवै धर्ममा विश्वास राख्नेछन् । यहाँ सोनाम ल्होसार, वैशाख १ गते र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गर्छ ।
यहाँ पुग्ने पर्यटकका लागि बस्नको कुनै समस्या छैन । १७ झ्याले होमस्टे मात्रै नभएर यहाँ रातोघर र पहेंलोघर होमस्टे तथा भारदेउ मिनी रिसोर्ट समेत रहेका छन् । होमस्टेमा पुगेपछि समुद्री सतहबाट २ हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडामा पुगेन भने यात्रा अपुरो नै रहन्छ ।
एकै पटक करिब दर्जन हिमालको दृश्यावलोकन गर्न यही डाँडाबाट सकिन्छ । उपत्यका नजिकैका गन्तव्य जहाँ एक रात बिताएर बिहान हिमालको दृश्यावकलोकन गरेर फर्कनेका लागि उपयुक्त गन्तव्य हो । पछिल्लो समय यहाँ आउने पर्यटको संख्या बढ्दै गएको गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङतान बताउँछन् ।

यहाँ पुग्नेले धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेवको गुफा समेत पुग्ने गरेका छन् । यो गुफाको विशेषता निकै फरक छ । बर्षातको समयमा पानी नपरेर खडेरी पर्यो भने गुप्तेश्वर महादेवको पुजा आरधाना गर्यो भने पानी पर्ने धार्मिक माध्यता रहेको स्थानीयको भनाइ छ । गुप्तेश्वर महादेव मन्दिरमा साउन, महाशिवरात्रि, बालाचतुर्दशी लगायत पर्वमा मेला लाग्ने गर्छ ।
यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टेमा आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ । गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङतान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवद्र्धनमा लागि परेका छन् ।
यो ठाँउलाई पनि बैदेशिक रोजगारीको चपेटाले अछुतो पारेको छैन । युवा खाडी, मलेसिया तथा केही युवा यूरोप प्रवेश गरेपछि यहाँको घर खाली खाली नै रहेका छन् । पर्यटकको संख्या बढेसँगै ती खाली घरलाई पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको स्थानीय ज्ञानबहादुर मोक्तान बताउँछन् । उनका अनुसार यस्ता घर २० घन्दा बढी नै छन् । ‘सबै घर यहाँको मौकिल हुन’ मोक्तानले भने ।
कोञ्ज्योसोम पुग्नका लागि निजी साधान नहुनेका लागि लगनखेलबाट गाडी पाइन्छ । कोञ्ज्योसोमबाट बिहान ७ बजे चापागाउँका लागि गाडि छुट्छ । चापागाउँबाट प्रत्येक दिउँसो ३ बजे कोञ्ज्योसोम जाने गाडि छुट्छ ।
पदमार्ग
अहिले गोदावरीबाट फूलचोकी हुँदै कोञ्ज्योसोमसम्म पदमार्ग रहेको छ । यस्तै कोञ्ज्योसोम डाँडाबाट काभ्रेपलाञ्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म पनि पदमार्ग छ । त्यती मात्रै होइन की, कोञ्ज्योसोम डाँडाबाट महाँकाल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्ग छ । प्रचार प्रसार अभावका कारण यी पदमार्गको चर्चा कम थियो । अहिले भने विस्तारै बढ्न थालेको छ । यो ठाँउमा आन्तरिक पर्यटक पनि बढ्न थालेको मोक्तानको भनाइ छ ।
कोञ्ज्योसोमको अर्थ
‘कोञ्ज्योसोम’ नाम तामाङ भाषाबाट आएको शब्द हो । ‘कोञ्ज्यो’ को अर्थ ‘रत्न’ वा ‘भगवान’ र ‘सोम’ को अर्थ ‘तीन’ हुन्छ । यसलाई बौद्ध धर्मसँग जोडेर यसलाई ‘त्रिरत्न’ (बुद्ध र धर्म) को रूपमा हेरिन्छ । यसले शान्ति र आध्यात्मिकतालाई दर्शाउँछ । यस्तै कोञ्ज्योसोमलाई ‘कोञ्ज्यो’लाई पहाडको चुचुरो र ‘सोम’लाई थुम्को भनेर पनि अर्थ लगाइन थालेको छ ।








प्रतिक्रिया दिनुहोस्