काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्री रामेश्वर खनालसहित १२ जना विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गर्ने भएको छ ।
आइतबार न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासको अन्तरिम आदेशमा अवहेलना मुद्दा दर्ता गर्ने उल्लेख छ ।
सर्वोच्च अदालतले बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएकाले सरकारलाई सोही अनुसार गर्नु÷गराउनु भनेको थियो ।
मंसिर ७ गते सर्वोच्चले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा भदौ २३ गते सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले आदेश अनुसार गर्नु÷ गराउनु भनेको थियो ।
असोज १ गते ओझा सर्वोच्चको आदेश लिएर प्राधिकरणमा पुगेका थिए । त्यसको भोलिपल्ट मन्त्रालयले ओझालाई अध्यक्षको हैसियतमा काम नगर्नु÷नगराउनु भन्दै पत्र पठाएको थियो ।
आज अदालतले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, पूर्व मुख्य सचिव एकनारायण अर्याल , अर्थ मन्त्रालयमा तत्कालिन राजस्व सचिव दिनेश घिमिरे, अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख महेश आचार्य, अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल र बीमा प्राधिकरणका अध्यक्ष जनक शर्मा विरुद्ध अवहेलना मुद्दा दर्ता अन्तरिम आदेश दिएको छ ।






प्रतिक्रिया दिनुहोस्