काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ असनमा पुनर्निर्माण सम्पन्न गरिएका सांस्कृतिक सम्पदाहरूको उद्घाटन गरिएको छ । यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डबली र भोटाहिटीमा रहेको कलश द्वारको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २७ का अध्यक्ष योगेशकुमार खड्गी र वातावरण समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले संयुक्त उद्घाटन गरेका हुन् ।
यी संरचनामध्ये यिताचपा सत्तल, सबैभन्दा धेरै लागत भएको अर्थात् २ करोड ८४ लाख २९ हजार ४५६ रुपियाँमा निर्माण सम्पन्न भएको योजना हो । यसको लागत अनुमान भ्याटसहित २ करोड ९१ लाख ३२ हजार ५०४ रुपियाँ थियो । यो कामका लागि शुभ श्री न्यु ए टु जेड जेभीलाई २०८१ जेठ २१ गते कार्यादेश दिइएको थियो । सत्तलको पुनः निर्माण गर्दा इटा, चुना सुर्की, बालुवा, काठ, ढुङ्गा, तेलिया इँटा, झिँगटी प्रयोग गरिएको छ ।
उद्घाटनपछि प्रवक्ता मानन्धरले असनको प्राचीनता सबै नेपालीमा परिचित स्थान भएको बताउँदै यसको मौलिक स्वरूप कायम राख्न सत्तलको पुनः निर्माणले योगदान दिएको उल्लेख गर्नुभयो । ‘काठमाडौँ पहिचान बचाउन असन क्षेत्रको भूमिका रहेको छ । यसको मौलिक स्वरूप बचाउन महानगरपालिकाले लगानी गरेको छ ।’ मानन्धरको भनाइ थियो ।
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, सत्तललाई टेकोमुक्त बनाउन सक्नु पहिलो उपलब्धि भएको बताउँदै यसको दिगो उपयोगका लागि स्थानीय सहभागिताको अपेक्षा गरेका छन् । भित्री सहरी क्षेत्रका मानिसहरू बसाइसराइ गरेर बाहिर गएकाले भित्री सहरको मौलिकता जोगाउन कठिन परेको बताउँदै उहाँले थातथलो नछोड्न आग्रह गरे।
प्राचीन स्मारक बचाएर मौलिकता र पहिचान बचाउनु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउँदै वडा २७ का अध्यक्ष खड्गीले, यिताचपा पुनः निर्माण सकिएपछि असनको मुहार नै उज्यालो भएको बताए । मूर्त सम्पदाहरूको पुनः निर्माण जारी रहेकोले पुर्खाको नासो पुस्तालाई हस्तान्तरणमा ठोस उपलब्धि प्राप्त हुने खड्गीले अपेक्षा राखेका छन् ।
आर्किटेक्ट अमित बज्राचार्यका अनुसार सत्तलको लम्बाई ६९ फिट र चौडाइ १३ फिट १० इन्च छ । २ तले २ पाखे सत्तलका दुवै तला तला ९५४.२७ वर्ग फिटका छन् । भुईँ तलामा जान ३ कवलपछि ढोका छ । पहिलो तलामा जान पूर्वतर्फ बाहिरबाट काठको भ¥याङ् राखिएको छ ।
भुईँतलाको उत्तर खण्डमा १० कवल पसल छन् । आर्किटेक्ट बज्राचार्यका अनुसार, भुईँतलाको पूर्वतर्फ महाङ्काल, कृष्ण र बुद्धको मूर्ति राखिएका छन् । भित्र दक्षिणपट्टिको गारोसँगै ११ वटा प्रस्तर थाम र तोरण राखिएका छन् । यसमा अन्नपूर्ण द्यःछेँका गुथियारहरुले दसैँमा पूजा गर्ने गरेका छन् । त्यसैमा एउटा नास द्यः (नाटयेश्वर) को मूर्ति पनि छ । पहिलो तलाको पूर्वमा आगम कोठा छ । यसमा लुँपौ गुथिले पूजाआजा गर्ने गरेका छन् । बाँकी भाग खुला छ ।
असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको सत्तल इतःचपा हो । यो सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको संरचना मानिन्छ । नेपाल मण्डलबाट व्यापारका लागि भोट जाने व्यापारीहरूका लागि निर्माण गरिएको मानिन्छ । परदेशमा गएपछि रोगव्याध आउन सक्छ । फर्किनेवित्तिकै परिवारसँग भेट गर्नु हुँदैन । निश्चित अवधि घुलमिल गर्नुहुँदैन, भन्ने सामाजिक विश्वास अनुसार लामो समय व्यापार गर्न गएकाहरूलाई निश्चित समय छुट्टै बस्न बनाइएको वासस्थान हो ।
भोट व्यापार गरेर फर्किएपछि घर जानुअघि १५ दिन यहाँ क्वारेनटिन बस्नु पर्थ्यो । त्यसपछि भोटाहिटीमा नुहाएपछि मात्र घर जान पाइन्थ्यो । यसरी हेर्दा इतःचपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि हो । यो संरचना जीर्ण भएपछि प्रयोग विहीन थियो । यसको संरचनागत जोखिमले पैदलयात्रीहरुलाई समेत जोखिम थियो । यो अवस्थामा रहेको संरचनालाई पुनः निर्माण गरेर अहिले मौलिक स्वरूपमा फर्काइएको छ ।
सत्तलको अगाडिपट्टि पसल कवल छन् । पछाडिपट्टि भजन गर्ने स्थान र नास द्यःछेँ रहेका छन् । संरचनाको इतिहास हेर्दा अभिलेखहरूमा सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको पाइएको छ । काठमाडौँको व्यस्त व्यापारिक केन्द्र असन बजारको यो संरचना प्राचीनता, मौलिकतासँगै कलाका दृष्टिले पनि महत्त्वपूर्ण छ । सत्तलका झ्याल, थाम, मेठ, बार्दली कलात्मक छन् । झिँगटीयुक्त छानोले सत्तलको सुन्दरता प्रदर्शन गरेको छ ।
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार करिब गणेश मन्दिर, नारायण मन्दिर र उमा महेश्वर मन्दिरको पुनर्निर्माण लागत करिब ८३ लाख रुपियाँ हो । यस्तै डबली करिब ४ लाख रुपियाँ लागतमा मर्मत भएको छ । कलश द्वारको लागत करिब ७ लाख २५ हजार रुपियाँ हो ।
प्रतिक्रिया दिनुहोस्