Skip to content

निजी क्षेत्रमा जाने कर्जा सुस्त हुँदा बैंकका कर्मचारीले लिने सस्ताे ऋण बढ्यो

बेसरेटभन्दा तल्लो सीमामा ‘स्टाफ’ले लिए पौने ९८ अर्ब

nabil bank

काठमाडौं । लामो समयदेखी निजी क्षेत्र तर्फ जाने कर्जा सुस्त हुँदा बैंकका कर्मचारीले लिने कर्जा भने बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई दिने कर्जा १४ प्रतिशतको हाराहारीमा बढेको छ ।

लामो समयदेखी उद्योग–व्यवसाय, रियल–स्टेट तथा उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग उल्लेखनीय रूपमा घटेपछि बैंकको कर्जा प्रवाहको गति निकै कमजोर भएको छ । तर यता, कर्मचारीलाई सस्तो ब्याजदरमा दिने स्टाफ कर्जा भने प्रतिवर्ष दोहोरो अंकले बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १९ वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ९७ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेका हुन् । यस अवधिमा नेपाल बैंकले भने आफ्ना कर्मचारीलाई दिएको कर्जाको तथ्यांक सार्वजनिक गरेको छैन ।

गत आर्थिक वर्षको सोही अवधिमा १९ वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ८५ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । पछिल्लो केही समययता बैंक तथा वित्तीय क्षेत्रबाट लगानीको लागि जाने कर्जा रकम खासै नबढेको भएता पनि कर्मचारीले लिने कर्जाको रेसियो भने बढेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा वाणिज्य बैंकको औसत आधार दर ५.६० प्रतिशत रहेको छ । वाणिज्य बैंकको आधार दर गत आर्थिक वर्षको तुलनामा १.७४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा बैंकहरुको बेसरेट औसत ७.३४ प्रतिशत रहेको थियो । बैंकहरुले उक्त बेसरेट भन्दा तल्लो रेटमा कर्मचारीलाई कर्जा दिएको छन् ।

बैंकका कर्मचारीले विभिन्न शीर्षकमा सहुलियत ब्याजदरमा कर्जा पाउँदै आएका छन् । एक बैंकरका अनुसार बैंकका कर्मचारीले ओडि, होम लोन, अटो लगायतका शीर्षकमा सबैभन्दा धेरे कर्जा लिने गरेका छन् । यस्ता शीर्षकमा बैंकका कर्मचारीले ४ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिने गरेको एक बैंकरले बताए । बैंकहरुले बेसरेटभन्दा सस्तोमा दिन्छन् । निक्षेपको रिटर्न ब्याजदरमा नै स्टाफले कर्जा पाउने गरेको ती बैंकरले बताए ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म आउँदा सबैभन्दा धेरै कर्मचारीलाई कर्जा दिने बैंकमा नबिल बैंक रहेको छ । यस बैंकले १२ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ कर्जा आफ्ना कर्मचारीलाई दिएको छ । यस बैंकको बेसरेट हाल ५.८५ प्रतिशत रहेको छ । उक्त रेटभन्दा तल्लो सीमामा बैंकले आफ्ना कर्मचारीलाई लोन दिएको हो । यस बैंकको यस्तो लोन गत आर्थिक वर्षको तुलनामा बढेको छ । यस बैंकको बेसरेट एक वर्षको अवधिमा १.४४ प्रतिशत घटेको छ ।

पछिल्लो समय बैंकहरुको कर्जा लगानी घट्दो अवस्थामा हुनु र कर्जाको ब्याजदर निरन्तर ओरालो लाग्दा यसको प्रत्यक्ष प्रभाव कर्मचारी कर्जामा परेको देखिन्छ । एक वर्षको अवधिमा अधिकांश वाणिज्य बैंकको आधार दर साढे एक प्रतिशत देखि २ प्रतिशतसम्म घटेको छ ।

पहिलो त्रैमाससम्मको बैंकको बेसरेट (Split Bars)

यसैगरी, यस अवधिसम्म सबैभन्दा धेरै कर्मचारीलाई कर्जा दिने दोस्रो बैंकमा प्रभु बैंक रहेको छ । यस बैंकले यस अवधिसम्म आउँदा ११ अर्ब ६ करोड ४२ लाख रुपैयाँ दिएको छ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६२ करोड ८९ लाख, लक्ष्मी सनराईज बैंकले ७ अर्ब १९ करोड, कृषि विकास बैंकले ५ अर्ब ७९ करोड र एनआईसी एसिया बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ कर्जा कर्मचारीलाई लगानी गरेका छन् ।

कुमारी बैंकले ५ अर्ब ८ करोड, सानिमा बैंकले ४ अर्ब ९५ करोड, माछापुच्छ्रे बैंकले ४ अर्ब ८८ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४१ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका छन् ।

यसैगरी, हिमालयन बैंकले ३ अर्ब ९२ करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब ६३ करोड, एभरेष्ट बैंकले ३ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले ३ अर्ब १४ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका छन् ।

सिद्धार्थ बैंकले २ अर्ब ८८ करोड, सिटिजन्स बैंकले २ अर्ब ७३ करोड, एनएमबी बैंकले २ अर्ब २० करोड प्राईम कमर्सियल बैंकले २ अर्ब ९ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २० करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका छन् ।

वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई दिएको कर्जा (Split Bars)
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime