Skip to content

बैंकका शाखा घटे नाफा बढ्ने, सेयरधनीले धेरै लाभांश पाउनेमा गभर्नर पौडेल विश्वस्त

साढे १७ सयमा कति होलान बन्द ?

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले महानगरपालिकामा च्याउ जसरी फैलिएका बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन तथा एकीकरण गर्न सहजिकरण गर्ने भएको छ ।

राष्ट्र बैंकको यो नीतिले डिजिटल कारोबारलाई टेवा दिने मात्रै नभएर बैंकको फजुल खर्च कम हुनुका साथै सेयधरनीले राम्रो लाभांश पाउने सम्भावना समेत बढेको छ ।

बैंकहरुले महानगरभित्र धमाधम च्याउ उम्रिए जसरी बैंकको शाखा विस्तार गर्दै जाँदा ठूला सहरी क्षेत्रमा घरलौरी जस्तै बैंकको बोर्ड देखिन्थे । जब डिजिटल कारोबार बढ्न थाल्यो त्यसपछि बैंकका कतिपय शाखाले गरेको ‘बिजनेश’ सञ्चालन गर्न धान्न समेत धौ धौ पर्ने स्थिती सृजना हुन थालेको थियो । यही बिचमा केन्द्रीय बैंकले अनावश्यक रुपमा रहेका शाखा समायोजन तथा एकीकरण स्वयमः बैंकलाई नै खुला छोडेको छ ।

हाल देशमा विभिन्न ६ वटा महानगरपालिका रहेका छन् । ६ वटा महानरमा मात्रै बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ७६३ रहेको छ । देशभरी भने ६ हजार ५२६ वटा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार काठमाडौं महानगरपालिकामा मात्रै बैंक तथा वित्तीय संस्थाको संख्या ८२२ रहेको छ । यस्तै पोखरा महानगरपालिकामा ३३७ वटा, बिराटनगर महानगरपालिकामा ११०, विरगञ्जमा ९६, ललितपुरमा २२२, भरतपुरमा १७६ वटा शाखा रहेका छन् ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन÷एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ’ भन्ने व्यवस्था गरेको छ । तर, सबै महानगरमा हो वा काठमाडौं महानगरमा मात्रै हो भन्ने यकिन हुन सकेको छैन । ६ वटा महानगरमा रहेका शाखाको तुलनामा काठमाडौंमा मात्रै करिब आधा हिस्सा छ ।

यी क्षेत्रमा ब्यापारीक गतिविधि, उद्योगधन्दा बढी छन् । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको शाखा पनि धेरै छन् । पछिल्लो समय डिजिटल कारोबार बढ्दै जाँदा बैंक तथा वित्तीय शाखा संख्या बढाउनेमा केन्द्रीय बैंक पुगेको हो । राष्ट्र बैंकका अनुसार २०८२ असोज मसान्तसम्म मोबाइल बैैंकिङ प्रयोग गर्नेको संख्या २ करोड ८४ लाख १८ हजार रहेको छ । इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या २३ लाख २ सय ६५ रहेको छ ।

पछिल्लो समय शाखामा पुगेर सेवा लिनेको संख्या घट्दै गएको छ । डिजिटल कारोबार बढ्दै गएको छ । यही बेला बैंकको शाखा बढी हुँदा सञ्चालक खर्च सोही अनुपातमा भइरहेको छ । जसमा असर नाफामा पर्ने गरेको छ । बैंकका नाफा बढाउन, प्रविधिमा लगानी बढाउन भन्दै राष्ट्र बैंकले यो नीति लिएको छ । यो नीति पनि अहिले एकै पटक आएको भने होइन ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक ल्याउँदा ‘विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिनेछ’ भनेको थियो ।
शाखा समायोजन तथा एकीकरण गर्नका लागि राष्ट्र बैंकले कसरी समन्वय गर्ने, कस्तो सहजता दिने भन्ने उल्लेख गरिएको छैन । अब जारी हुने एकीकृत निर्देशनबाट थप प्रष्ट हुने जनाएको छ । राष्ट्र बैंकको यो नीतिले बैंकको नाफा बढ््ने, सञ्चालन खर्च घट्ने, सेयरधनीले धेरै लाभांश पाउने, बैंकले प्रविधिमा लगानी बढाउनेमा राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेल ढुक्क छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९ औँ वार्षिकोत्सव समारोहमा उनले राष्ट्र बैंकले लिएको नयाँ नीतिले बैंक तथा सेयरधनी लाभान्वित हुने बताए ।  ‘बैंकहरुले आफ्नो प्रोफिटाबिलिटीमा पनि काम गर्नुपर्ने भएको छ’ उनले भने ।

प्रा.डा पौडेलले न्यूरोडमा ६० वटा बैंक छ भन्ने कुराहरू आइरहेको उल्लेख गर्दै अहिले सुरुमा महानगरपालिका भित्र बैंकका शाखाहरू खोल्ने, बन्द गर्ने काममा बैंकहरुलाई नै खुल्ला छाडिदिएको बताए । ‘बैंकको शाखा बन्द गर्दा तपाईँहरुको प्रोफिटाबिलिटीमा सकारात्मक प्रभाव पर्छ भन्ने मलाई छ । त्यो भएर बैंक राम्रोसँग सञ्चालन गर्नुहोस’ उनले भने ‘लाभांश धेरै दिनुहोस । बैंक अनुशासनमा चलोस । प्रविधिमा लगानी गर्नुहोस ।’

नेपालमा केही वर्षयता डिजिटल बैंकिङलाई निकै प्राथमिकतामा राखिएको छ । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको समयदेखि डिलिटललाई झनै धेरै प्राथमिकता दिइएको थियो । त्यो अहिले बैंक तथा वित्तीय संख्या हुँदै किराना पसलसम्म पुगेको छ ।

अहिले नगद कारोबारभन्दा पनि डिजिटल कारोबार निकै बढ्दै गएको छ । एक समयमा उपत्यकामा च्याउसरी खुलेका बैंकको शाखा अहिले न कायमै राख्नु, न बन्द गर्नु जस्तै भएको थियो । अब भने सहज भएको बैंकरहरु बताउँछन् । पहिले दिनभरि भिडलाग्ने बैंकका शाखामा अहिले धेरै भिड देख्न पाइँदैन । सबै कारोबार डिजिटल भए पनि सेवाग्राहीले बैंकसम्म आउने समय बचाउन थालेको एक बैंकरले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime