Skip to content

सेबोनलाई ब्रोकरका करिब २ दर्जन सुझावः मार्जिन कारोबारको ब्यवस्था निर्देशिका भन्दा नियमावली मार्फत ल्याउनु, अन्य के छन् ?

nabil bank

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन–२०८२ का लागि धितोपत्र बोर्डलाई दर्जन बढी सुधाव दिएको छ ।

बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन–२०८२ का लागि ७ दिन भित्र सुझाव दिन मंसिर ८ गते अनुरोध गरेको थियो । एसोसिएसनले आइतबार बोर्डलाई सुझाव दिएको जनाएको छ ।

एसोसिएसनले मार्जिन कारोबारलाई ब्यबस्थित गर्न आवश्यक सुझावहरु दिएको जनाएको छ । एसोसिएसनले यसअघि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ लागू भएको स्मरण गराएको छ ।

केही सदस्य दलाल व्यवसायीहरूले प्रयोगमा ल्याउन चाहेता पनि केही व्यावहारिक कठिनाइ तथा केही प्राविधिक कठिनाइले गर्दा र मार्जिन सुविधा प्रदान गर्ने स्रोतको समस्याले गर्दा हाल कार्यान्वयनमा ल्याउन सम्भव नभएर यथास्थितिमा रहेको समेत स्मरण गराएको छ ।

अझै पनि केही बिषयमा ब्रोकरको गम्भीर कठिनाइसँगै सुझाव पेश गरेको एसोसिएसनले जनाएको छ ।

यस्तो छ एसोसिएसनले दिएको सुझावः

१. सदस्य दलाल व्यवसायीहरूले मार्जिन कारोबारको लागि चाहिने लगानीको रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै रहेका छन् । यसमा मुख्य गरि हामीले उठाउँदै आएको विषय ग्राहकबाट लिएको सेयरलाई बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा परिचालन गर्ने ब्यवस्था हुँदा जोखिम बाँडिने र स्रोेतको पनि उचित ब्यवस्था हुने अबस्था रहन्छ । त्यसैगरी मार्जिन कारोबारको ब्यवस्थालाई निर्देशिकाबाट भन्दा पनि नियमावली मार्फत आँउदा अझै बलियो कानूनी आधार बन्न सक्ने हाम्रो सुझाव रहेको छ ।

२. मार्जिन कारोबार गर्ने ग्राहकको परिवार, हकवाला, अन्य नियमनकारी निकाय, अनुसन्धान गर्ने निकाय, अड्डा अदालत वा सरकारबाट कुनै पनि अनुसन्धान वा कारबाही गर्नुपर्ने अवस्था सृजना भई सम्पति रोक्का गर्नु पर्ने अवस्था आएमा धितोपत्र दलाल ब्यवसायीले दिएको मार्जिन कर्जाको दायित्व असुल उपर गर्न आवश्यक धितोपत्र वा रकम यकिन गरि छुट्टाई बाँकी रहेको रकम मात्र रोक्का गर्ने व्यवस्थाका लागी धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरीङ्ग लिमिटेडलाई निर्देशन समेत जारी गर्नुपर्ने आवश्यकता रहेको छ । यसका अतिरिक्त हामीले केही बुँदागतरुपमा सुझाव पनि राखेका छौं ।

निर्देशन नम्बर–३ मा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०८२ को ३ (ग) बुँदामा पछिल्लो ३ बर्षमा २ बर्ष लाभांस वितरण गरेको भन्ने रहेकोमा लाभांशको प्रावधान व्यावहारिक नभएको कारण मूनाफामा गएको भन्ने शब्द राख्न आवश्यक भएको ।

निर्देशन नम्बर ३ (घ) बुँदाको सट्टामा “प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भई कम्तीमा १८० दिन कारोबार सम्पन्न भएको” भन्ने वाक्य राख्न आवश्यक भएको ।
निर्देशन नम्बर ४ को बुँदा (ग)को सट्टामा ‘निक्षेप सदस्यले प्राप्त गरेको वा निक्षेप सदस्य कम्पनी खोली लगानी गरेको’ भन्ने शब्द राख्न आवश्यक भएको ।
निर्देशन नम्बर ६ को (१) बुँदाको सट्टामा “धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको शेयरको बजार मूल्यको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ” भन्ने कुरा राख्न आवश्यक भएको ।

निर्देशन नम्बर ६ को (३) बुँदाको सट्टामा “प्रारम्भिक मार्जिनको रुपमा लिइएको शेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको शेयरको मूल्यांकन रियल टाइममा मार्क्ड टु मार्केटको आधारमा गर्नुपर्नेछ । तर उक्त शेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन ।”

निर्देशन नम्बर ७ को (१) बुँदाको सट्टामा “शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधा अन्र्तगत खरिद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्नु ग्राहकको कर्तव्य हुनेछ । सो पुरा नगरेमा धितोपत्र दलाल ब्यवसायीले लगानीकर्तालाई सोहि दिन मार्जिन कल गर्नु पर्र्नेेछ ।”

निर्देशन नम्बर ७ को (२) बुँदाको सट्टामा “उपदफा (१) बमोजिम मार्जिन कल गरेपश्चात् अर्को कारोवार दिनको कारोवार शुरु हुनु अगाबै आवश्यक मार्जिन कायम नगरेमा धितोपत्र दलाल व्यवसायीले बजारको अवस्था र जोखिमलाई हेरी मार्जिन कारोवार सुविधा अन्र्तगत खरिद गरेको शेयर विक्री गर्न सक्नेछ ।”

निर्देशन नम्बर ७ को (५) बुँदाको सट्टामा “यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको मार्जिन कारोबार योग्य धितोपत्र धितो बन्दकीको रुपमा लिन सक्नेछ । उक्त शेयरको मूल्य गणना गर्दा १८० दिनको भारित औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ७० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ ।”

निर्देशन ८ को (१) बुँदाको सट्टामा “धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर वा आफ्नो शेयरधनी वा सञ्चाालक सँग वा हाई नेटवर्थ भएका व्यक्ति वा संस्थाहरुसँग असुरक्षित ऋण लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्न सक्नेछ ।

तर, धितोपत्र दलाल व्यवसायीले शेयरधनी वा सञ्चाालक सँग वा हाई नेटवर्थ भएका व्यक्ति वा संस्थाहरुसँग असुरक्षित ऋण सापटी लिँदा प्रचलित कम्पनी सम्बन्धी काननूमा भएको व्यवस्था पालना गर्नु पर्नेछ ।”

निर्देशन ८ को (२) बुँदाको सट्टामा “धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर वा आफ्नो शेयरधनी वा सञ्चाालक सँग वा हाई नेटवर्थ भएका व्यक्ति वा संस्थाहरुसँग असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ५ गुणाभन्दा बढी हुनुहँुदैन । तर धितोपत्र दलाल व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रचलित कानूनको अधिनमा रहेर आवश्यकता अनुसार लिएको अन्य ऋण यसमा गणना हुने छैन ।”

निर्देशन ८ मा एउटा थप (४) बुँदा थप गर्नु पर्ने “धितोपत्र दलाल ब्यवसायीले मार्जिन कारोबार सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाबाट स्रोत ब्यवस्थापन गर्न पर्ने भई उक्त प्रयोजनको लागि बैंक वित्तीय संस्थाले धितो जमानत खोजेमा मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद भएका ग्रहाकहरुको मार्जिन कारोबार हितग्रही खाता (मार्जिन ट्रेडिङ खाता) मा मौज्दात रहेको कूल शेयर मध्ये आवश्यक परिमाणमा धितोपत्रहरु रोक्का नरहने गरी बैंक तथा वित्तीय संस्थालाई धितो स्वरुप लेखिदिन सक्नेछन् ।”

निर्देशन ९ को (१) को सट्टामा “धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दश गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छ । यस सम्बन्धी थप व्यवस्था धितोपत्र बजारले तोके बमोजिम हुनेछ ।”

निर्देशन ९ को (२) सट्टामा “धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढिमा २५% प्रतिशत वा अधिकतम रु १० करोड मध्ये जुन कम हुन्छ त्यो भित्र रहेर मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छन् ।”

निर्देशन १३ को सट्टामा निम्न बमोजिम हुनु पर्ने

(१) यस निर्देशनको अधिनमा रही धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार अन्तरगत सम्पन्न गर्ने क्रियाकलापहरुमा एकरुपता हुने गरी र धितोपत्र बजारले मार्जिन कारोवार सुविधा सम्बन्धमा आवश्यक कार्यविधि बनाई लागू गर्नुपर्नेेछ ।

(२) धितोपत्र दलाल व्यवसायी र धितोपत्र बजारले उपदफा (१) बमोजिम जारी गर्ने कार्यविधिमा देहायका विषयहरु न्यूनतम रुपमा राख्नु पर्नेछ ।

(क) मार्जिन कारोबार सेवा सञ्चालन गर्न चाहने धितोपत्र दलाल व्यावसायीहरुलाई सहमति प्रदान गर्दा आवश्यक पर्ने कागजात सहित सहमति प्रदान गर्ने तथा नविकरण गर्ने प्रक्रिया सम्बन्धमा,
(ख) मार्जिन कारोबार अन्तरगत कारोबार गर्न मिल्ने वर्गीकृत शेयर र सोको मार्जिन सम्बन्धमा,
(ग) मार्जिन कारोबार सञ्चालन गर्न आवश्यक पर्ने कारोबार प्रणालीमा कायम हुनुपर्ने न्यूनतम फिचर्सका बारेमा,
(घ) मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक रकमको श्रोत जुटाउनका लागि प्रदान गरिने ब्याजदरको सम्बन्धमा,
(ङ) मार्जिन कारोबार सेवा लिन चाहने लगानीकर्ता पहिचान तथा विश्वसनीयता परिक्षण सम्बन्धी प्रक्रियाका सम्बन्धमा,
(च) मार्जिन कारोबार अन्तरगत रियल टाइम र्माक टु मार्केट तथा दैनिक मार्क टु मार्केट गर्ने प्रक्रियाका सम्बन्धमा,
(छ) सम्भार मार्जिन गणना तथा मार्जिन कल गर्ने विधि सम्बन्धमा,
(ज) मार्जिन कल अनुसार सम्भार मार्जिन प्राप्त गर्ने विधि सम्बन्धमा,
(झ) मार्जिन कल अनुसार सम्भार मार्जिन आंशिक वा पूर्ण रुपमा प्राप्त नभएमा शेयर बिक्री सम्बन्धी व्यवस्था,
(ञ) मार्जिन कारोबार गर्दा धितोपत्र दलाल व्यावसायीले मार्जिन कारोबार सञ्चालन तथा सुपरिवेक्षण गर्ने सम्बन्धमा,
(च) एकल ग्राहक मार्जिन सुविधा प्राप्त गर्ने तथा सञ्चालन गर्ने अधिकतम सीमा सम्बन्धमा,
(छ) मार्जिन कारोबार सेवा सञ्चालनका लागि आवश्यक कारोबार खाता तथा हितग्राही खाताको व्यवस्था सम्बन्धमा,
(ज) मार्जिन कारोबार सेवा अन्तरगत भएको खरिदबिक्री तथा राफसाफ एवं मार्जिन कारोबार हितग्राही खाताको शेयरलाई बैंक वित्तीय संस्था वा नन बैंकिंग वित्तिय संस्थामा धितो राखी ऋण लिई मार्जिन कारोबार सेवा सञ्चालन गर्ने सम्बन्धमा,
(झ) बैंक वित्तिय संस्था बाहेक शेयरधनी, सञ्चालक तथा हाइनेटवर्थ लगानीकर्ताहरुबाट ऋण सापटी लिई मार्जिन सेवा सञ्चालन गर्ने सम्बन्धमा,
(ञ) मार्जिन कारोबार सेवा अन्तरगत ग्राहकहरुबाट ब्याज लिन पाउने सीमा निर्धारणका सम्बन्धमा,
ट) मार्जिन कारोबार सेवा सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायीले ग्राहकहरुसँग माग्न सक्ने आवश्यक कागजात सम्बन्धी विवरणका सम्बन्धमा,
(ठ) धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच गरिने सम्झौताको ढाँचा,
(ड) मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरण गर्न अपनाइने नीति सम्बन्धमा,

(३) उपरोक्त बाहेक धितोपत्र बजारले मार्जिन कारोबार सेवा अन्तरगतका सहभागीहरुको आवश्यकता बमोजिम बोर्डको स्वीकृति लिई कार्यविधिमा थपघट तथा संशोधन गर्न सक्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime