काठमाडौं । नेपालसँग आफ्नो कुटनीतिक सम्बन्ध विस्तारको लागि युरोपको कोसोभो आतुर रहेको जनाएको छ ।
नेपाल आइपुगेका बंगलादेशका लागि कोसोभोका राजदूत लुलजीम प्ल्लानाले नेपालसँग कुटनीतिक सम्बन्धको लागि तयारी भइरहेको र निकट भविष्यमा सम्बन्ध स्थापित हुने बताए ।
सन् २००८ मा स्वतन्त्र भएको कोसोभो र नेपालबीच भुपरिवेष्ठित देश र दुवै देशका नागरिकहरु विदेशमा बढी भएको विषय समानता रहेका छन् ।
नेपालमा आइपुगेका बंगलादेशका लागि कोसोभोका राजदूत लुजजीमले नेपालसँग पर्यटन,सूचना तथा प्रविधि तथा विद्यार्थीहरुको विश्वविद्यालयमा अध्ययनको आदान प्रदानको विषयमा कोसोभो तयार रहेको जानकारी दिए । उनले काठमाडौं विश्वविद्यालयसँग सहकार्यको विषयमा समेत अगाडि बढाएको बताए ।
सन् २००८ मा स्वतन्त्र भएको कोसोभोलाई अहिले विश्वका ११७ देशले मान्यता दिएर कुटनीतिक सम्बन्ध स्थापित गरेका छन् । दक्षिण एशियामा बंगलादेशले सबैभन्दा पहिला कोसोभोलाई मान्यता दिएर कुटनीतिक सम्बन्ध स्थापित गरेको थियो ।
नेपाल र कोसोभोबीच गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँको व्यापार भएको तथ्यांक छ । नेपालले गत आर्थिक वर्षमा ३१ करोड ४० लाख रुपैयाँको आयात गरेको थियो भने निर्यात २२ करोड ३० लाख रुपैयाँको गरेको थियो । नेपालले चकलेट र कपडाका सामाग्रीहरु कोसोभोबाट आयात गरेको तथ्यांक देखिन्छ । डोरीको निर्यात कोसोभोमा भएको भन्सारको तथ्यांक छ ।






प्रतिक्रिया दिनुहोस्