काठमाडौं । सिटिजन्स बैंकले ‘बैंक अफ द इयर २०२५’ अवार्ड पाएको छ।
बैंकले लगातार दुई वर्षसम्म यो उपाधि पाएको हो । बैंकले गत वर्ष २०२४ पनि यहि अवार्ड पाएको थियो । फाइनान्सियल टाइम्स समूहअन्तर्गतको ‘द बैंकर’ पत्रिकाले प्रत्येक वर्ष वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा विश्वभरका उत्कृष्ट बैंकहरू छनोट गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।
सन् १९२६ देखि प्रदान हुँदै आएको यो अवार्ड बैंकको मुनाफा, वित्तीय स्थायित्व, डिजिटल प्रविधि अपनत्व, सेवामा सुधार तथा हरित वित्तसम्बन्धी पहलजस्ता सूचकांकको मूल्यांकनमा आधारित हुन्छ। यस वर्षको मूल्यांकनमा सिटिजन्स बैंकले वित्तीय विस्तार, डिजिटल बैंकिङ सेवा, हरित बैंकिङका प्रयास तथा ग्राहक सेवा सुधारका कारण उत्कृष्ट ठहरिएको हो।
बैंकका अनुसार यो अवार्डले संस्थालाई डिजिटल रूपान्तरण र दिगो बैंकिङ प्रवर्द्धनमा थप ऊर्जा मिलेको छ। वातावरणमैत्री बैंकिङको लागि बैंकले सुरु गरेको ‘सिटिजन्स वातावरणीय कोड’ अभियान पनि मूल्यांकनमा महत्वपूर्ण मानिएको छ।
गत कात्तिकमा प्रकाशित चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २२ करोड ४ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यही अवधिमा मुनाफा १९ करोड ८२ लाख २० हजार रुपैयाँ थियो, जसले बैंकको सञ्चालन क्षमता मजबुत बन्दै गएको संकेत गर्छ ।






प्रतिक्रिया दिनुहोस्