काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड विरुद्ध धितोपत्र बोर्ड, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उजुरी परेको छ । प्रभु केवलकारका सेयरधनीले उक्त कम्पनीका साथै सिद्धार्थ केवलकारविरुद्ध सोमबार चार वटै निकायमा उजुरी दिएका हुन् ।
कम्पनीले प्री–आईपीओ निष्कासन गरेपछि पटक पटक हकप्रदको नाममा लगानीकर्तालाई दुःख दिएको, कम्पनीले सेयर निष्कासन गरेको रकमको लगानीको पारदर्शीता, सेयर जारी गरेपछि समयमा नै प्रमाणपत्र नदिएको, सिद्धार्थ केबलकारको सेयर प्रतिकित्ता १५० रुपैयाँमा बिक्री गरेर पछि त्यही सिद्धार्थका सेयरधनीलाई प्रभु केबलकारको सेयर किन्न लगाएको भन्दै उजुरी दिएका छन् ।
कम्पनीले सेयरधनीलाई पटक पटक झुक्यानमा पारी भ्रामक प्रचार तथा भ्रामकरुपमा काउन्सेलिङ गरी दुवै कम्पनीको सेयर किनाउने गरेको उजुरीमा उल्लेख छ । पीडित लगानीकर्ताले दिएको उजुरी अनुसार प्रभु केबलकार लिमिटेडको सेयर खरिदका लागि आफ्नो मोबाइल नम्बर प्राप्त गरी पटक पटक फोन गरी वा म्यासेज पठाई गत वर्षको कात्तिक, मंसिर महिनादेखि निरन्तर सम्पर्क गरेको र प्रभु केबलकारको सेयर प्री आईपीओ भन्दै प्रतिकित्ता ११५ रुपैयाँमा खरिद गराएको थियो ।
प्रभु केबलकारको सेयर खरिद गरेलगत्तै कम्पनीले १ः१ अनुपातमा राइट सेयर भनी फेरि आफूसँग रहेको सेयर बराबर किन्न लगाइएको उल्लेख छ ।
कम्पनीले त्यस लगत्तै लिलामीको सेयर भन्दै अक्सन खुलाएर प्रतिकित्ता १२० रुपैयाँदेखि माथिमा बिक्री गरेको थियो । त्यो सेयर सबै नबिकेपछि पुनः प्रतिकित्ता १२५ रुपैयाँका दरले करोडौं रकमको सेयरको बिक्री गरेको थियो ।
प्रभु केबलकारले १:२.६३ अनुपातमा राइट सेयर बिक्री गरिरहेकै समयमा पनि नयाँ सेयरधनीलाई प्रतिकित्ता १३० रुपैयाँका दरले सेयर बिक्रीसमेत गरेको थियो । सुरुमा ११५ रुपैयाँमा बिक्री गरिएको सेयर पछि प्रतिकित्ता १२५ र अन्तिमपटक १३० मा बिक्रीसमेत गरेको थियो । यतिबेला ती सेयरहरूको दर्ता प्रक्रिया चलिरहेकै समयमा फेरि सिद्धार्थ केबलकारमा प्रतिकित्ता १५० रुपैयाँ हालेर सेयर खरिद गरेकाहरूलाई अफर भन्दे राइट सेयर किन्न बाध्य पारिएको हो ।
अहिले प्रभु केबलकारले पुस २६ र सिद्धार्थ केबलकारले पुस २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले अहिले धमाधम सिद्धार्थ केवलकारको १५० रुपैयाँका दरले सेयर किनेका सेयरधनीलाई १०० रुपैयाँमा १ः२.५ अनुपातमा प्रभु केबलकारको हकप्रद सेयर किन्न लगाइरहेको छ ।
सिद्दार्थ केबलकारले गत वर्षको कात्तिकदेखि यो वर्षको कात्तिकसम्म प्रभु केबलकारको सेयर खरिद, राइट सेयर, पुनः राइट सेयर र अन्तिमपटक कात्तिक ९ गतेदेखि फेरि १ः२.६३ अनुपातमा राइट सेयर बेचेको छ । कम्पनीले मंसिर १५ गते नै राइट सेयर किन्ने मिति सकियो भनेर सूचना जारी गरेको थियो ।
यता, आइतबार सेयरधनीको मोबाइलमा म्यासेज गरेर सेयर किन्न भनेको छ । प्रभु ग्रुप्सका अध्यक्ष भोजकुमार खड्का (श्याम) ले हकप्रद सेयर किन्ने समय सकिएको स्वीकारे । तर, आईतबार पठाइएको सेयर किन्ने सन्देश हकप्रद हो वा अन्य केही हो भन्ने लगानी न्यूजको प्रश्नमा भने ‘हैन, खै हकप्रद सेयर किन्ने समय सकियो’ भन्ने मात्रै प्रतिकृया दिए ।
विभिन्न चार वटा निकायमा परेको उजुरीमा प्रभु केबलकार कम्पनी लिमिटेडकै करिब ८१ प्रतिशत सेयर स्वामित्व रहेको र चाँडै नै आईपीओमा जाने भन्दै सिद्धार्थ केबलकारको सेयर समेत प्रभु केबलकारमा सुरुमै सेयर हुनेलाई प्रतिकित्ता १०० रुपैयाँ र नहुनेलाई प्रतिकित्ता १५० रुपैयाँमा बिक्री गरिएको उल्लेख छ । उक्त सेयर खरिद गरेको लामो समय भइसक्दासमेत अझै पनि उक्त केबलकारको सेयर प्रमाणपत्र उपलब्ध नगराएको उजुरीमा उल्लेख छ ।

‘नयाँ राइट सेयर भन्दै फेरि किन्न बाध्य पार्न खोजिएको सम्बन्धमा यही बिचमा मंसिर २१ गते पुनः प्रभु केबलकार कम्पनी लिमिटेडबाट म निवेदकको मोबाइलमै म्यासेज पठाई पुनः सिद्धार्थ केबलकारमा सेयर हुनेहरुलाई १ः२.६३ का दरमा सेयर खरिदका लागि सूचना पठाइएको छ’ उजुरीमा भनिएको छ ‘यसअघि प्रभु केबलकारको राइट सेयर खोल्दा सिद्धार्थ केबलकारका सेयरधनीलाई राइट दिने कि नदिने भन्ने सम्बन्धमा कुनै कुरा नगरिएकामा अहिले एक्कासी के कति आधार, कारणबाट राइट सेयर दिन खोजिएको हो, त्यस सम्बन्धमा पनि कुनै जानकारी दिइएको छैन । यसबाट म निवेदकलाई पटकपटक ऋण खोजेर प्रि–आईपीओका नाममा सेयर हाल्न बाध्य पारिएको छ र यसबाट मेरो आर्थिक क्षतिका साथै मानसिकरुपमा समेत तनाव दिएको छ ।’
प्रभु केबलकार र सिद्धार्थ केबलकारमा किन यस्तो भइरहेको छ, जानकारी पाउन मुस्किल भएको उजुरीमा उल्लेख छ । ‘किन यस्तो भइरहेको छ भन्दा पनि केही न केही गडबडी वा बदमासी भइरहेकै छ भन्ने कुरा स्पष्ट छ’ उजुरीमा उल्लेख छ ।
थोरै कित्ताको मात्रै रकम बुझाएर बाँकी कित्ताको लागि कागजमा मात्रै लिएको देखाउने समूहले नै प्रभु केबलकार कम्पनी कब्जा गरेको आभाष भइरहेको उजुरीमा छ । पटक पटक राइट सेयर किन र केका लागि आउँदैछ, थाहा हुन सकेको छैन । ‘केबलकारका सञ्चालकहरुले हामी साधारण सेयरधनीको पैसाबाट तलब भत्ता खाने, आफ्नो नाममा सेयरको कित्ता देखाउने तर रकम भुक्तानी नगर्ने लगायतका समस्या देखिएको आभास भएको छ’ उजुरीमा भनिएको छ ।
हाल प्रभु केबलकारले सिद्धार्थ केबलकारका सेयरधनीका लागि भन्दै खुला गरिएको राइट सेयर तत्काल रोका राखी प्रभु केबलकार र सिद्धार्थ केबलकारमा के भइरहेको छ, सो सम्बन्धमा तत्काल छानबिन गरी दोषी देखिएमा कारबाही गरी लगानीकर्ताको सम्पत्ति सुरक्षित गरिदिनुहुन अनुरोध गरिएको छ ।
यता कम्पनीका अध्यक्ष खड्काले सेयधरनीलाई प्रमाणपत्र नदिएको सन्दर्भमा कम्पनी रजिष्ट्रारको कार्यालयमा सबै विवरण डिजिटल पठाउनु परेका कारण समय लागेको बताए ।









प्रतिक्रिया दिनुहोस्