Skip to content

धमाधम हुँदै छ माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणको काम, ३० प्रतिशत भौतिक प्रगति

nabil bank

काठमाडौं । म्याग्दी, २२ मङ्सिर स् म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

अपर म्याग्दी हाइड्रोपावर  लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ । एक वर्षको अवधिमा उक्त आयोजनाको ३०.९४ प्रतिशत भौतिक र ३०.८० प्रतिशत वित्तीय प्रगति भएको छ ।

हाल यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ । यस आयोजनाले बिस २०८३ फागुन भित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युत् गृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिइरहेको छ । कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।

विसं जेठ ८ गते सुरु भएको बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युत् गृहको उत्खनन कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो ।

धवलागिरि गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ ।

मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनौट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेबाट विद्युत् गृहको उँचाइ एक सय ९६ मिटर रहेको छ । आउटलेबाट पानीलाई विद्युत् गृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।

ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । विद्युत्गृह मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ ।

सानीमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime