काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ ।
आइतबार भर्चुअलरुपमा बसको बैठकमा संघका अध्यक्ष द्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिव द्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको पहिलो बैठकले १२ एनआरएनएको १२ औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन पनि गरेको छ ।
उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । निर्वाचन समितिमा उनीसहित ७ जना रहने छन् । यसैगरी बैठकले अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाई निर्वाचन आयुक्त तोकिएको छ ।
यसैगरी आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिव द्वय लामा र जोशीलाई दिइएको छ । एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्