विराटनगर । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । एजेन्टको आन्दोलनका कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ ।
आन्दोलनलाई विराटनगरका निजी क्षेत्रलेसमेत समर्थन जनाएका छन् । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताए ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेण्ट महासङ्घ नेपालको आह्वानमा आजदेखि कार्यालयमा काम बन्द गरिएको बताए । आन्दोलनका कारण भन्सार आयात निर्यातको जाँच पास रोकिएको छ । विराटनगर भन्सार कार्यालयले सरकारले तोकेको अनुसार दैनिक करिब १४ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य पाएको छ । आन्दोलनका कारण सो लक्ष्य प्राप्तिमा असर परेको छ ।






प्रतिक्रिया दिनुहोस्