काठमाडौं । रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।
रिलायन्सले निष्काशन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई शेयर वितरण गरिएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पनि झण्डै गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि सोमबार १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो । निर्धारित अवधि (बिहीबार) सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको आवेदन परेको छ ।
नेपाली पुँजी बजारको इतिहासमा वैदेशिक रोजगारकर्ताहरुको आईपीओमा परेको यो संभवतः सबैभन्दा बढी आवेदन हो । रिलायन्सले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारकर्ताका लागि निष्काशन गरेको थियो ।
निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने छैन । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो ।
सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सोमबार आईपीओ निष्काशनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्