रौतहट । मधेश प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य भएका छन् ।
पुल निर्माणका लागि ठेक्का लगाएता पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ । रौतहट र सर्लाही जिल्ला जोड्नका लागि बागमती नदीमा दुईवटा पुल तोकिएको सयमा निर्माण नभइ अलपत्र हुँदा यात्रुहरु वर्षौंदेखि जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्न बाध्य छन् । जनजीवन प्रभावित भएको छ । दुवै पुलले सर्लाही र रौतहट मात्र नभए पर्सा, बारा, रौटहटलाई मधेश प्रदेशको राजधानी जनकपुरलाई जोड्ने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिका बारेमा जानकारी लिए । पुल नहुँदा बेहोर्नु परेको समस्याका विषयमा स्थानीयसँग छलफल गरे ।
पुल नबन्दा आम जनताको हरेक दिन बहोरिरहेको समस्या देख्दा आफूलाई दुःख लागेको उल्लेख गर्दै मन्त्री घिसिङ आफू मन्त्री पदमा रहे या नरहे पनि खबरदारी गरिरहने बताए । स्थानीयले पुल तत्काल निर्माण सम्पन्न गर्न आग्रह गरेका थिए ।
रौतहटको दुर्गाभगती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगा पिपरा) जोड्ने सात सय मिटर लामो पुल अलपत्र छ ।
पुल निर्माणका लागि असार २०७३ मा टुण्डी—रसुवा—पप्पु संयुक्त उपक्रम (जेभी) सँग ८६ करोड ३७ लाख रुपैयाँ (कर सहित) मा ठेक्का सम्झौता भएको थियो ।
पछिल्लो पटक थपिएको ठेक्का समझौताको म्याद बमोजिम पुल निर्माण १३ कात्तिक २०८३ भित्र सम्पन्न गर्नुपर्ने छ । गत वर्षको असोजमा बागमती नदीमा आएको बाढीले पुलको एक स्पान र एक जग (फाउन्डेसन) बगाएको छ । पुलको निर्माण भौतिक प्रगति ८० प्रतिशत छ ।
हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । निर्माण व्यवसायीले काम गर्न नसकपछि पुरानो ठेक्का तोडी वैशाख २०७९मा ६५ करोड १६ लाखमा नयाँ ठेक्का लगाइएको थियो ।
साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा हाल निर्माण प्रगति २० प्रतिशत मात्र छ ।ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भएता पनि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको छैन ।
त्यस्तो रौतहटको चपुरबाट उत्तरतर्फस्थित गैंडाटार चाँदी पुल १० वर्षदेखि निर्माण अलपत्र छ । मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान—चतरा—हैंटौडा सडक खण्डसँगसमेत जोड्न समेत प्रयोग हुने पुल तीन पटक म्याद थएिता पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण तत्काल सम्पन्न गर्न स्थानीयले अनशनलगायतका विभिन्न विरोधका कार्यक्रम गरेका थिए । पुल निर्माणको ठेक्का पप्पु—शिवशंकर जेभीले पाएको थियो ।






प्रतिक्रिया दिनुहोस्