Skip to content

लगानीको क्षेत्र सुस्ताउँदा कर्जा बढेन, चार महिनामा ०.९ प्रतिशत बिन्दुमात्र कर्जा लगानी

nabil bank
काठमाडौं । देशको आर्थिक गतिविधि अपेक्षित गतिमा फर्किन नसक्दा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह सुस्त बन्दै गएको छ ।  उद्योग, व्यापार, निर्माण तथा अन्य लगानीका क्षेत्रहरूमा कर्जाको माग कमजोर हुँदा कर्जा लगानी घटेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार मसान्तदेखि कात्तिक मसान्तसम्म कर्जा लगानी जम्मा ०.९ प्रतिशत बिन्दुले मात्र वृद्धि भएको छ । बैंक तथा वित्तीय क्षेत्रले गरेको कर्जा लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै कम हो ।
राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न क्षेत्रमा जम्मा ५१ अर्ब ५६ करोड रुपैयाँ मात्र कर्जा थपेका छन् । हालसम्म कुल कर्जा लगानी ५६ खर्ब ४३ अर्ब ६३ करोड १० लाख रुपैयाँ पुगेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा लगानी २.३ प्रतिशत बिन्दुले बढेको थियो ।
पछिल्लो समय लगानीयोग्य वातावरण कमजोर हुनु, निजी क्षेत्रको मनोबल खस्किनु, उपभोगमा कमी आउनु र सरकारी खर्च पनि अपेक्षाअनुसार नबढ्नु लगायतका कारण कर्जा विस्तार सुस्त भएको हो ।  पछिल्लो केही वर्ष यता बैंकले कर्जामा लिने ब्याजदर ब्याजदर घटे पनि व्यवसायी तथा लगानीकर्ताहरू अझै नयाँ लगानी गर्न हिचकिचाइरहेका छन् । जसको प्रत्यक्ष असर कर्जा मागमा परेको देखिन्छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ । यस अवधिमा क्यास क्रेडिटतर्फ ११ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कर्जा घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, ओभर ड्राफ्ट कर्जामा पनि गिरावट देखिएको छ । चार महिनाको अवधिमा ओभर ड्राफ्ट कर्जा ४.९ प्रतिशतले घट्दै ५ अर्ब ५० करोड ३४ लाख रुपैयाँले कमी आएको छ । व्यवसायीहरूले छोटो अवधिका लागि लिने यस किसिमको कर्जा घट्नुले बजारमा नगद प्रवाह कमजोर रहेको र कारोबार विस्तार कम भएको देखिन्छ ।
आयातसँग सम्बन्धित कर्जामा पनि संकुचन देखिएको छ । ट्रस्ट रिसिप्ट तथा आयात कर्जा चार महिनामा २.१ प्रतिशतले घटेको छ । यस अवधिमा आयात कर्जा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँले घटेको छ । पछिल्लो समय आयातमा केही नियन्त्रण कायम रहनु, उपभोग घट्नु तथा व्यापार घाटा नियन्त्रण गर्ने सरकारी नीतिका कारण आयात कर्जा पनि प्रभावित भएको हो ।
चालु आवको कात्तिक मसान्तसम्म आउँदा केही शीर्षकहरूमा भने सीमित सुधार देखिएको छ । टर्म लोनतर्फ चालु आर्थिक वर्षको पहिलो चार महिनामा १७ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ कर्जा थपिएको छ । यो कर्जा ०.९ प्रतिशतले बढेको हो ।
डिमान्ड एन्ड अन्य वर्किङ क्यापिटल कर्जामा पनि सामान्य वृद्धि देखिएको छ । राष्ट्र बैंकका अनुसार यस शीर्षकअन्तर्गत कर्जा १.१ प्रतिशतले बढ्दै ९ अर्ब १ करोड ९२ लाख रुपैयाँले वृद्धि भएको छ । आवास कर्जातर्फ भने तुलनात्मक रूपमा राम्रो वृद्धि देखिएको छ । दुई करोड रुपैयाँभन्दा माथिको आवासीय व्यक्तिगत गृह कर्जा चार महिनामा ५.९ प्रतिशतले बढेको छ । यस अवधिमा यस क्षेत्रमा २४ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ कर्जा थपिएको छ ।
चालु आवको ४ महिनामा रियल इस्टेट रियल इस्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ । यस अवधिमा यस क्षेत्रमा १ अर्ब १ करोड रुपैयाँ कर्जा कमी आएको छ। पुँजी बजारसँग सम्बन्धित सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा भने सुधार देखिएको छ । यस प्रकारको कर्जा चार महिनामा ३.९ प्रतिशतले बढ्दै ५ अर्ब ५२ करोड २७ लाख रुपैयाँले वृद्धि भएको छ ।
यसैगरी, हायर पर्चेज कर्जामा पनि सामान्य वृद्धि भएको छ । यस क्षेत्रमा कर्जा १.३ प्रतिशतले बढ्दै चार महिनामा १ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ थपिएको छ । यसबिच, प्राथमिकता प्राप्त अर्थात् डिप्राइभ्ड क्षेत्रमा जाने कर्जामा भने उल्लेख्य गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा यस क्षेत्रमा जाने कर्जा ७.४ प्रतिशतले घटेको छ । यो अवधिमा २१ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ कर्जा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime