काठमाडौं । नबिल बैंककाे असञ्चिति अग्राधिकार सेयरको बाँडफाँड प्रक्रिया सम्पन्न भएकाे छ । बैंकले संस्थागत लगानीकर्तालाई लक्षित गरी जारी गरेको उक्त अग्राधिकार सेयर बाँडफाँड भएकाे हाे ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता सेयर निष्कासन गरेको थियो । नबिलले कुल ५ अर्ब रुपैयाँ बराबरको असञ्चिति अग्राधिकार सेयर निष्कासन गरेको हो। नबिलले ‘‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’’ जारी गरेको थियो ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। नबिलको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८ प्रतिशत लाभांश पाउनेछन्।
परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र सेबोनबाट अनुमति पाएका धितोपत्र व्यवसायीले यसमा लगानी गर्न पाउँदैनन्।
राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ। यस्तै वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लाभांश वितरण गर्दछ।
नोक्सानीमा रहेको वर्ष र सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असञ्चिति प्रकृतिको अग्राधिकार सेयर भनिएको हो। सन् २००७(०९ को विश्वव्यापी वित्तीय संकटपछि वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएकामा नेपालमा पहिलोपटक अनुमति दिइएको हो।








प्रतिक्रिया दिनुहोस्