काठमाडौं । सहकारी संस्थाहरुले विभिन्न सफ्टवेयर तथा प्रविधि सेवा प्रदायक क्रम्पनीसँग विद्युतीय भुक्तानी सम्बन्धी कारोबार गर्दा पैसा अपचलन हुने समस्या देखिन थालेको छ ।
सहकारी संस्थाहरुले विभिन्न सफ्टवेयर कम्पनीसँग सम्झौता गरी विद्युतीय सेवा उपलब्ध गराइरहेका छन् । सहकारीले यसरी उपलब्ध गराएको त्रीपक्षीय सम्झौतामा हुने गरेको छ ।
सफ्टवेयर एउटा कम्पनी र वित्तीय सेवा अर्को कम्पनीबाट दिने गरेका छन् । यसबाट स्वयम सहकारी संस्था ठगिने गरेका छन् । पछिल्लो समय एउटा त्यस्तै घटना घटेको छ मोरङ जिल्ला विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा ।
संस्थाले सिनर्जीटेक सफ्टवेयर र मोबाइल फाइनान्स टेक्नोलोजीबाट मोवाईल बैंकिङ सेवा दिइरहेको थियो । एकाएक सहकारीको १९ लाख ७५ हजार ८९३ रुपैयाँ हराएपछि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । कात्तिक २९ गते साँझ साढे ६ बजेदेखि पौने ९ बजे र ३० गते बिहान पौने ९ बजेदेखि पौने ११ बजेको अवधिमा सहकारीको नाममा रहेको खाताबाट उक्त रकम अन्यत्र ट्रान्सफर भएको पाइएको छ ।
संस्थाले दायर गरेको उजुरीमा ‘राष्ट्रसेवक मोफिन एप सेयर सदस्यलाई प्रयोग गर्न दिएको बचत खाता र संस्थाले कुनै पनि कारोबार गर्न अनुमति नदिएको आवधिक बचत खातामा पहुँच पुर्याएर सेयर सदस्यले एप्स सञ्चालनका लागि रजिष्ट्रार गराएका सेयर सदस्यको मोबाइल नम्बर परिवर्तन गरी अनधिकृत एनसेलको एउटै नम्बरको प्रयोग गरी संस्थाका कर्मचारी, सञ्चालक समिति र सम्बन्धीत सेयर सदस्यहरु समेतलाई ज्ञात नहुने तवरबाट संस्थाको सिस्टममा अनधिकृत रुपमा पहुँच पुर्याइ १९ लाख ७५ हजार ८९३ श्रपैयाँ बाहिरिएको छ’ उजुरीमा उल्लेख छ ।
उजुरीमा अनधिकृत मोबाइल नम्बर प्रयोग गरी सम्झौता विपरीत सिस्टमभित्र पहुँच पुर्याई रकम बाहिर गएको घटनाको वस्तुस्थिती हेर्दा मोबाइल फाइनान्स टेक्नोलोजीको डाटावेस मै पहुँच भएको व्यक्तिबाट मात्र त्यस्तो कुकृत्य गर्ने सम्भावना भएको उजुरीमा उल्लेख छ । सहकारीका प्रबन्धक कृष्ण भट्टराईले सिस्टमबाट पैसा बाहिर गएको थाहा पाउना साथ प्रहरीमा उजुरी दिएको बताए । यो काम मोबाइल फाइनान्स टेक्नोलोजीबाट मात्रै हुन सक्ने उनको भनाइ छ । सहकारीले मोबाईल बैंकिङ कारोबार सञ्चालनका लागि मोबाइल फाइनान्स टेक्नोलोजीको ‘मोफिन’ एप्स प्रयोग गर्दै आएको थियो ।
साइबर ब्यूरोमा उजुरी दिँदा मोबाइल फाइनान्सबाट यस्तो घटना भएको भनिएपनि कसले यो काम कुन प्रयोजनका लागि गरेको भन्ने अहिलेसम्म खुलेको छैन । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यता सिनर्जीटिक सफ्टवेयरमा भने कुनै समस्या नरहेको जनाएको छ । सफ्टवेयरमा समस्या नभएका कारण यसमा सफ्टवेयरबाट कुनै समस्या नदेखिएको जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस्