काठमाडौं । दक्षिण एसियाको इन्डो–गंगेटिक मैदान र हिमाली फेदी क्षेत्र (आईजीपी–एचएफ) मा वायु प्रदूषण गहिरिँदै जाँदा उक्त क्षेत्र विश्वकै गम्भीर विकास चुनौतीमध्ये एक बनेको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस क्षेत्रमा बसोबास गर्ने करिब एक अर्ब मानिस अस्वस्थ हावा सास फेर्न बाध्य छन् । जसका कारण हरेक वर्ष करिब १० लाख मानिसको समय अगावै ज्यान जाने गरेको तथ्यांकमा उल्लेख छ।
उक्त स्थानमा भएको वायु प्रदूषणले स्वास्थ्यमा मात्र होइन, अर्थतन्त्रमा पनि ठुलो क्षति पु¥याउँदै आएको छ । वार्षिक रूपमा क्षेत्रीय कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब १० प्रतिशत बराबर आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ।
विश्व बैंकद्वारा सार्वजनिक गरिएको ‘ए ब्रेथ अफ चेन्ज: इन्डो–गंगेटिक मैदान र हिमाली फेदी क्षेत्रमा स्वच्छ हावाका समाधान’ नामक प्रतिवेदनले समन्वयात्मक र व्यवहारिक कदम चाल्न सके दक्षिण एसियाको वायु गुणस्तर उल्लेख्य रूपमा सुधार गर्न सकिने देखाएको छ। प्रतिवेदनले प्रदूषण घटेमा जनस्वास्थ्यमा सुधार आउनुका साथै उत्पादनशीलता बढ्ने र आर्थिक वृद्धिलाई समेत टेवा पुग्ने निष्कर्ष निकालेको छ।
प्रतिवेदनअनुसार बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानका केही भाग समेटिएको आईजीपी–एचएफ क्षेत्रमा वायु प्रदूषणका पाँच मुख्य स्रोत छन्। खाना पकाउन ठोस इन्धनको प्रयोग, उद्योगमा जीवाश्म इन्धन र बायोमासको असक्षम दहन तथा फिल्टर प्रविधिको अभाव, पुराना र प्रदूषण बढी गर्ने सवारीसाधन, कृषिमा बाली अवशेष जलाउने अभ्यास र मल तथा गोठेमालोको कमजोर व्यवस्थापन, साथै घरधुरी र व्यवसायबाट निस्कने फोहोर जलाउने कार्य प्रमुख कारणका रूपमा रहेका छन् ।
यी समस्याको समाधानका लागि प्रतिवेदनले तत्काल अपनाउन सकिने र दीर्घकालीन प्रभाव दिने उपायहरू सुझाएको छ। विद्युतीय चुलोको प्रयोग बढाउने, उद्योगका बायलर, फर्नेस र भट्टीलाई आधुनिकीकरण गर्दै विद्युतीय गर्ने, गैर–मोटरयुक्त तथा विद्युतीय यातायात प्रणाली विस्तार गर्ने, बाली अवशेष र पशुजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने, र फोहोरको वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित विसर्जनलाई प्रभावकारी बनाउने उपायहरू प्रमुख छन्।
स्वच्छ हावाका यी समाधानलाई प्रतिवेदनले तीन आधारभूत क्षेत्रमा केन्द्रित गरेको छ। पहिलो, खाना पकाउने, उद्योग, यातायात, कृषि र फोहोर व्यवस्थापनमा स्रोतबाटै प्रदूषण घटाउने न्यूनीकरण उपाय। दोस्रो, स्वच्छ हावातर्फको यात्रामा बालबालिका, वृद्ध र जोखिममा रहेका समुदायलाई जोगाउन स्वास्थ्य र शिक्षा प्रणाली सुदृढ बनाउने संस्मरणात्मक कदम। तेस्रो, दिगो प्रगति सुनिश्चित गर्न कानुनी तथा नियामक संरचना, बजारमा आधारित उपकरण र क्षेत्रीय समन्वयद्वारा समर्थित सशक्त संस्थागत व्यवस्था।
विश्व बैंकका वरिष्ठ वातावरणीय अर्थशास्त्री मार्टिन हेगरले प्रतिवेदनले नीति निर्माताका लागि स्पष्ट र व्यवहारिक मार्गचित्र प्रस्तुत गरेको बताएका छन्। उनका अनुसार स्वच्छ प्रविधि र अभ्यास अपनाउँदा दक्षिण एसियाका उद्योग, घरधुरी र किसान सबैलाई आर्थिक र वित्तीय लाभ पुग्ने ठोस आधारहरू देखिएका छन्, जसमा सरकारले सहजीकरण गर्नुपर्ने भूमिका महत्त्वपूर्ण छ।
समाधान कार्यान्वयनलाई व्यवहारमा उतार्न प्रतिवेदनले ‘चार आई’ को अवधारणा अघि सारेको छ। यसमा योजना र उत्तरदायित्वका लागि भरपर्दो तथ्यांक उपलब्ध गराउने सूचना, स्वच्छ विकल्पतर्फ व्यवहार र लगानी मोड्न प्रोत्साहन, राष्ट्रिय र स्थानीय तहबिच समन्वय गरी कार्यान्वयन सुनिश्चित गर्ने संस्था, र स्वच्छ ऊर्जा, यातायात तथा फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वाधार समावेश छन्।
विश्व बैंक दक्षिण एसिया क्षेत्रका वातावरण अभ्यास प्रबन्धक एन जेनेट ग्लाउबरका अनुसार स्वच्छ हावा हासिल गर्न स्थानीय, राष्ट्रिय र क्षेत्रीय तहमा निरन्तर सहकार्य, दिगो वित्तीय स्रोत र प्रभावकारी कार्यान्वयन अपरिहार्य छ। उनका अनुसार साझा प्रयासमार्फत अघि बढेमा दक्षिण एसियाले प्रदूषण घटाएर लाखौँ जीवन जोगाउन सक्नेछ र सबैका लागि स्वच्छ हावा सुनिश्चित गर्ने दिशामा ठोस उपलब्धि हासिल गर्न सक्नेछ।







प्रतिक्रिया दिनुहोस्