काठमाडौं । जेनजी आन्दोलनको आवरणमा तोडफोड र आगजनीपछि अस्थायी रूपमा बन्द रहेको वर्णवास म्युजियम होटलको क्रेडिट रेटिङ घटेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस होटलको लागि जारी गरिएको जारीकर्ता मूल्याङ्कन र बैंक सुविधाको मूल्याङ्कनमा नकारात्मक प्रभावहरू सहितको क्रेडिट वाच सूचीमा समावेश गरिदिएको जानकारी दिएको छ ।
यस कम्पनीले दीर्घकालीन ऋणको लागि ९६ करोड ५९ लाख ५० हजार रुपैयाँ र अल्पकालीन कर्जाको लागि ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको थियो । कम्पनीले कुल १ अर्ब ४ करोड ५९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उक्त ऋणको रेटिङलाई इक्रा नेपालले निगरानीमा राखेको हो ।
इक्रा नेपालले यस कम्पनीको दीर्घकालीन कर्जाको रेटिङ ‘इक्राएनपि एलबि माइनस’ बाट घटाएर ‘इक्राएनपि एलसी प्लस’ रेटिङ दिएको छ । यस कम्पनीको ऋण तिर्न सक्ने क्षमता कमजोर रहेको जनाउँछन् । यसले कम्पनीको कर्जा डिफल्ड हुने सम्भावना उच्च रहेको संकेत गराउँछन् । यसैगरी, कम्पनीको अल्पकालीन कर्जाको रेटिङलाई इक्रा नेपालले ‘इक्राएनपि एफोर’ कायम गरेको छ ।
इक्रा नेपालले हालैको राजनीतिक अशान्तिको समयमा होटलले भोगेको ठुलो क्षतिको कारण होटल बन्द भएको छ । यसको ऋणको रेटिङ घटाइएको जानकारी दिएको छ । यो होटल १ अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएर गत वर्षदेखि मात्र सञ्चालनमा आएको थियो । होटल घाटाबाट उकासिन नपाउँदै आगजनीका कारण बन्द भएको छ । यस होटलमा नेपाली काँग्रेसका तत्कालीन सांसद राजेन्द्र बजगाईँको सेयर स्वामित्व रहेको छ ।







प्रतिक्रिया दिनुहोस्