काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको आयात र निर्यातको ठूलो बजार भारत भएको बताएका छन् । उनले नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ ।
नेपाल–भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताए । “नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ”, उनले भने ।
अर्थमन्त्री खनालले नेपाल र भारतबीचको अर्थतन्त्रलाई मजबुद बनाउन नेपाल–भारत उद्योग वाणिज्य सङ्घले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले भारत नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भएको बताउँदै भारतसँग नेपालले ऊर्जा, पूर्वाधारलगायतको क्षेत्रमा साझेदार गर्दै आएको बताए ।
नेपाल भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिल केसीले सङ्घले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताए ।
कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने सङ्घअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्