काठमाडौं । एनआईसी एशिया बैंकले बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको वास्तविक स्थान पहिचान गर्न सहयोग गर्ने गुगल म्यापसहितको सम्पूर्ण विवरण उपलब्ध गराइएको छ। लिलाम बिक्रीसम्बन्धी सूचनामा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी सम्बन्धित पोर्टलमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकले आफूले खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी प्रत्यक्ष रूपमा जानकारी अनुरोध गर्न सक्ने सुविधा पनि बैंकले उपलब्ध गराएको छ।
बैंकका अनुसार उक्त अनलाइन पोर्टलमा लिलाम बिक्रीमा रहेका बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूका साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरू र लिलामसम्बन्धी अन्य सूचना नियमित रूपमा अद्यावधिक गरिनेछ। यसले लिलाम प्रक्रियालाई अझ पारदर्शी, सहज र सूचना–मैत्री बनाउने विश्वास बैंकले लिएको छ।
लिलाममार्फत सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकहरूले बैंकको अनलाइन पोर्टलमार्फतै बिक्री हुने सम्पत्तिहरूको विस्तृत विवरण प्राप्त गरी लाभ लिन सक्नेछन्।











प्रतिक्रिया दिनुहोस्