काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट ३ वाणिज्य बैंकले भने कुनै पनि लाभांश नदिने घोषणा गरेका छन् ।
गत आर्थिक वर्षको नाफाबाट प्रभु बैंक, कुमारी बैंक र सरकारी स्वामित्व रहेको नेपाल बैंकले लगानीकर्ताको हात खाली बनाएका हुन । अहिलेसम्म प्राइम कमर्सियल, नबिल, नेपाल एसबिआई, एनएमबि, लक्ष्मी सनराईन, कृषि विकास, ग्लोबल आइएमई, एभरेष्ट, माछापुच्छ्रे, स्टयान्डर्ड चार्टर्ड, सिटिजन्स, सानिमा र सिद्धार्थ बैंकले लाभांश घोषणा गरेका छन् । जसमा केही बैंकले सभा बोलाएर सभाले तोकेको लाभांश पारित गरेको छ ।
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानी कर्तालाई ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्र वितरण गर्न लागेको हो ।
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । यस बैंकले ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरेर ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस बैंकले ५ प्रतिशत बोनस ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लक्ष्मीसनराईज बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस बैंकले १० प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस बैंकले ३.२५ प्रतिशत बोनस ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ४ प्रतिशत बोनस र करसहित ४ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको साधारण सभा सम्पन्न गरिसकेको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश दिएको छ । कात्तिक २ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा बोलाएको छ । सभा बोलाएको बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सिटिजन्स बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनश सेयर र करसहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बैंकले कात्तिक १२ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरिसकेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
सिद्धार्थ बैंकले गत आवको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत करसहित नगद लाभांश दिने जनाएको छ । बैंकले सभा प्रयोजनका लागि कात्तिक ३० गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेका लाभांश पाउनेछन् ।
लाभांश घोषणा गर्न बाँकी बैंकको क्षमता कति ?
एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न सक्ने क्षमता शून्य रहेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार यस बैंकको लाभांश क्षमता शून्य रहेको हो । यस बैंकले अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा पनि लाभांश वितरण गरेको थिएन ।
यसैगरी, गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंकले पनि आफ्ना लगानीकर्तालाई दिने लाभांश क्षमता शून्य रहेको छ । यस बैंकले पनि आर्थिक वर्ष २०८०–८१ मा लाभांश वितरण गर्न सकेको थिएन ।
गत आर्थिक वर्षको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश घोषणा गर्न बाँकी छ । यस बैंकको लाभांश क्षमता एकदमै न्यून छ । बैंकको लाभांश क्षमता १.४४ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण देखाउँछ । यस बैंकले पनि आर्थिक वर्ष २०८०–८१ मा लाभांश वितरण गर्न सकेको थिएन ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको लाभांश क्षमता १.९४ प्रतिशत रहेको छ । यद्यपि यस बैंकमा सर्वसाधारणको सेयर भने छैन ।
प्रतिक्रिया दिनुहोस्