काठमाडौं । गोदावरी स्टील लिमिटेडको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले पुस ३० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनी प्रधान कार्यालय, ग्वार्को, ललितपुर–८ मा हुने छ । कम्पनीले सभामा जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । जसमा १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन हुनेछ ।
बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त २० प्रतिशतमा १० प्रतिशत सेयर श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र ५ प्रतिशत सेयर संस्थामा कार्यरत कर्मचारी तथा ५ प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई निष्कासन गरिने प्रस्ताव रहेको छ ।
कम्पनीले सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने प्रस्ताव रहेको छ ।
यस्तै सभा आईपीओ निष्काशनसँग सम्बधित काम कारबाही अगाडि बढाउन स्वीकृतीका लागी नियमनकारी निकायमा पेश गर्दा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन लगायत अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको अध्यक्ष मुन्ना प्रसाद सेनुरिया बानियाले बताए ।
गोदावरी स्टिल्स प्रालिले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२२ को भन्दा १६.४४ प्रतिशतले धेरै हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार सन् २०२२ मा यो कम्पनीले ५ अर्ब ४१ करोड र सन् २०२१ मा ३ अर्ब १ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
स्टिलले ७ अर्ब ६० करोड रुपैयाँ कर्जाका लागि रेटिङ पुनः गराएको छ । जसमध्ये ३ अर्ब २६ करोड ९६ लाख दीर्घकालीन कर्जाका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन कर्जाका लागि ४ अर्ब ३३ करोड ३ लाख रुपैयाँ कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पाएको छ । गोदावरी स्टिल्सको कारखाना चन्द्रनिगाहपुर, रौतहटमा छ ।








प्रतिक्रिया दिनुहोस्