Skip to content

मुलुकमा पूर्वाधार विकास कमजोर भएकोप्रति गभर्नर डा. पौडेल चिन्तित

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको बताएका छन् ।

राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वाधार विकासको स्थिति कमजोर बनेको प्रति उनी निकै चिन्तित देखिए । उनले पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालनका निम्ति नीतिगत र संरचनागत वातावरण सहज हुनुपर्ने विचार व्यक्त गरे ।

उनले पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता एवम् मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउनका निम्ति राष्ट्र बैंकबाट भइरहेका प्रयासबारे जानकारी दिए ।

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशालाई समेटेर कार्यपत्र प्रस्तुत गरे । समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको स्थिति, विद्यमान चुनौती र त्यसलाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकबाट भएका नीतिगत प्रयास र दीर्घकालीन सुधारको मार्गचित्रबारे चर्चा गरे ।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् पृथ्वीराज लिगलले कार्यपत्रमाथि टिप्पणी गर्दै कुल राष्ट्रिय बचत बढ्दै जाँदा लगानीको अनुपात चाहिँ कमजोर रहेको विचार व्यक्त गरे ।

बाह्य क्षेत्रको स्थिति सबल देखिएता पनि अर्थतन्त्रका अन्य परिसूचकहरू निकै कमजोर रहेको टिप्पणी गरे । अहिलेको अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी नबढाउँदासम्म अर्थतन्त्र सुधार नहुने उनको भनाइ थियो ।

अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार विकासको क्षेत्रमा परिचालनका निम्ति सरकारले प्रयास गर्नुपर्ने धारणा राखे ।

अर्थशास्त्री डा. कल्पना खनालले ब्याजदर निरन्तर घट्दै जाँदा त्यसले पुँजी पलायनलाई प्रश्रय मिल्नसक्ने उल्लेख गर्दै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय आयोगका पूर्व सदस्य एवम् सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका निम्ति वित्त नीति सबल हुनुपर्नेमा जोड दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life