काठमाडौं । आवश्यक ऐन कानून बिना नै नेपालमा ४५० किलो तौल क्षमताका ग्यासको नयाँ सिलिण्डर ल्याउने तयारी थालिएको छ ।
४५० किलो तौल भएको ग्यासको सिलिण्डर बजारमा ल्याउनका लागि गुणस्तर परिषदले प्रमाणिकरण समेत गरिसकेको छ ।
४५० किलो तौल भएको सिलिण्डर ल्याउनका लागि सरकारले गुणस्तर प्रमाणिकरण गरेको भएपनि पूर्ण रुपमा कार्यान्वयमा लैजानका लागि आवश्यक कानूनको अभाव रहेको छ । कानूनको अभाव बिना कार्यान्वयमा ल्याँउदा अनुगमन, नियमन गर्न असहज हुने, सुरक्षा जोखिम बढ्ने जानकारहरुको भनाइ छ ।
सरकारले यसको गुणस्तर प्रमाणिकरण गरेको भएपनि आवश्यक कानून अभावका कारण कार्यानवयनमा कसरी लैजाने भन्ने आन्यौलमा नेपाल आयल निगम परेको छ । यसका लागि सुरक्षा मापदण्ड समेत छैन । निगम सञ्चालनका लागि अहिलेसम्म ऐन छैन । अहिले निगम नेपाल आयल निगम लिमिटेडको नियमावली २०२७ अनुसार सञ्चालन भएको छ ।
हाल व्यक्तिगत प्रयोजनका लागि र व्यवसायी प्रयोजनका लागि १४.२ किलो तौल क्षमताको सिलिलण्डर प्रयोग भइरहेको छ । व्यवसायीक प्रयोजनका लागि १४.२ को सट्टा ४५० किलोको सिलिण्डर सञ्चालन गर्न दिने तयारी गरिएको छ । त्यसका लागि कानूनी अभाव भने रहेको छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना अहिले प्रयोगमा रहेको १४.२ किलो तौल क्षमता भएको सिलिण्डरको गुणस्तरमा प्रश्न रहेको समयमा बिना ऐन कानून ४५० किलो तौल क्षमताको सिलिण्डर सञ्चालनमा ल्याउन नहुने बताउँछन् ।
‘नेपालमा ग्यासको सिलिण्डर प्रयोगका लागि सुरक्षा मापदण्ड छैन’ उनले भने ‘अहिले पनि प्रभावकारी रुपमा अनुमगन नियमन हुन सकेको छैन । अहिले ४५० किलो क्षमताका सिलिण्डर ल्याउने हो भने यसले भोलीका दिनमा ठूलो क्षति निम्त्याउन सक्छ ।’ यस्ता संवेदनशिल विषयमा सरकार बढी चनाखो हुनुपर्ने उनको भनाइ छ ।
यो कार्यान्वयमा ल्याउनु अघि गुणस्तर मापन गर्नका लागि कार्यविधि आवश्यक पर्ने उनको भनाइ छ । सरकारले ४५० किलो क्षमताका सिलिण्डर व्यवसायीक प्रयोजनका लागि ल्याउन लागेको भएपनि त्यसका लागि कानूनी रुपमा तयार हुनुपर्ने, कार्यविधि बन्नुपर्ने उनले बताए ।
नेपालमा पछिल्लो समयमा बनेका संरचना यो प्रयोज गर्न मिल्ने भएपनि पुरानालाई के गर्ने भन्ने विषय पनि प्रष्ट हुनुपर्ने उनको भनाई छ । नेपालमा भएको उद्योग बस्तीको बिचमा हुने गरेको र त्यसले सुरक्षा चुनौती निकै बढाउने उनको भनाई छ ।
४५० किलो क्षमताका सिलिण्डर प्रयोग गर्ने हो भने सुरुमा पेट्रोलियम ऐन चाहिने तिमिल्सना बताउँछन् ।
ग्यास विक्रेता महासंघ लगायतले हाल प्रयोग भइरहेको १४.२ किला क्षमताका सिलिण्ड प्रयोगमा गुणस्तर, सुरक्षा मापदण्ड लगायतको प्रश्न रहेको भन्दै कानुनी आधारबिना सञ्चालनमा ल्याउन नहुने बताउँदै आएका छन् ।
हाल एलपी ग्यास विनियमावलीले १४.२ किलोका सिलिन्डरलाई मात्र अनुमति दिएको छ । पहाडी क्षेत्रमा ५ किलो र व्यावसायिक प्रयोजनमा १९ किलोका सिलिन्डरलाई मान्यता दिइएको छ । ४५० किलोको सिलिन्डरलाई मान्यता दिएको छैन । यो प्रयोग गर्न कानून पनि छैन ।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले ४५० किलो तौल क्षमताको सिलिण्डरको प्रमाणिकरण भएको बताए । अहिले आवश्यक कानून नभएका कारण तत्काल कार्यान्वयमा जान समस्या हुने बताए । ‘यसको प्रयोग कसले कसरी गर्ने भन्ने तय भएको छैन । बिष्फोटक ऐन छैन’ उनले भने ‘नियमन नियन्त्रण, अनुगमन गर्न ऐन छैन । कानून अभावमा अनुगमन गर्न चुनौती छ । कानून आवश्यक छ ।’
हाल नेपालमा ५९ ग्यास उद्योग सञ्चालनमा छन् । देशभर करिब १ करोड ७५ लाख सिलिन्डर सञ्चालनमा छन् ।











प्रतिक्रिया दिनुहोस्