काठमाडौं । सुपर खुदी हाइड्रोपावर कम्पनीले पुस २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमा १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गर्न लागेको हो । जसमा ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता सेयर लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–२ र ३ का स्थानिय र बाँकी ६० प्रतिशत ९ लाख ३० हजार कित्ता सेयर मर्स्याङ्दी गाउँपालिका– १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाका लागि निष्कासन हुनेछ ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा स्थानियले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकका बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि १ करोड ५५ लाख रुपैयाँको १ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन पाउनेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिनु पर्ने छ । आयोजना प्रभावित क्षेत्रका स्थानियले माघ ६ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्