काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता भई उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ। दुवै दलबीच विस्तृत सहमति–पत्रमा हस्ताक्षर भएसँगै नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको एकीकरण भएको हो।
परिवर्तित राजनीतिक परिस्थितिमा सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्याय र समावेशी लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने साझा लक्ष्यसहित एकता गरिएको सहमति–पत्रमा उल्लेख छ। विशेषगरी युवापुस्ताले उठाएको भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको मर्मलाई आत्मसात गर्दै शहीद तथा घाइतेप्रति सम्मान व्यक्त गरिएको छ।
सहमति अनुसार एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको चुनाव चिह्न ‘घण्टी’ कायम गरिने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख गरिएको छ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ।
उज्यालो नेपाल पार्टीका अभियान, संगठन र कार्यक्रमहरू रास्वपाको संरचनाभित्र समाहित गरिनेछन्। एकतापछि पार्टीलाई थप सशक्त, फराकिलो र प्रभावकारी बनाउँदै युवाअभियन्ता तथा अनुभवी व्यक्तित्वहरूको समुचित समायोजन गरिने सहमति–पत्रमा जनाइएको छ। जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने उल्लेख छ।
सहमति–पत्रअनुसार पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्नलाई केन्द्रमा राखी लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको एजेन्डालाई अझ मजबुत बनाउने लक्ष्य लिइएको छ। एकतासम्बन्धी सबै कानुनी तथा औपचारिक प्रक्रिया निर्वाचन आयोगमा अद्यावधिक गरिने पनि सहमतिमा उल्लेख छ।
काठमाडौंमा आयोजित कार्यक्रममा सहमति–पत्रमा दुवै पक्षका नेतृत्वले हस्ताक्षर गरेका छन्। राजनीतिक विश्लेषकहरूले यो एकतालाई वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।








प्रतिक्रिया दिनुहोस्