काठमाडौं । बैंंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा औद्योगिक क्षेत्रमा १६ खर्ब ९९ अर्ब ४९ करोड कर्जा प्रवाह गरेका छन् ।
कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदमा उल्लेख छ ।
औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.२७, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.२६, कृषि, वन तथा पेयपदार्थ सम्बन्धी उद्योगमा २१.८५, निर्माणसम्बन्धी उद्योगमा ११.७०, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ ।
प्रतिवेदनअनुसार गत असार मसान्तसम्म प्रवाहित औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब ९७ करोड अर्थात् यस शीर्षकमा प्रवाहित वार्षिक कर्जाको ७१.३ प्रतिशत रहेको छ । त्यसपछि कोशीको ९.५ र लुम्बिनी प्रदेशको ८.३ प्रतिशत रहेको छ । मधेसको ७.५, गण्डकीको १.६, कर्णालीको ०.२ र सुदूरपश्चिमको १.६ प्रतिशत रहेको छ ।
यस्तै, सेवा क्षेत्रमा गत आवको अन्त्यसम्म कर्जा प्रवाह २१ खर्ब ८४ अर्ब चार करोड पुगेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश मात्रै ३९ दशमलव एक प्रतिशत हुन आउँछ ।
सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा बिक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७ दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छभने ‘रियल स्टेट’ उपक्षेत्रमा १२.२, पर्यटन उपक्षेत्रमा ११.८, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११.३, शिक्षामा ६.६, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा ३.७, अन्य सेवा उपक्षेत्रमा ३.७ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यसम्बन्धी उपक्षेत्रमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।
सेवा क्षेत्रअन्तर्गत प्रवाहित कर्जामा बागमती प्रदेशको हिस्सा ५९ दशमलव पाँच प्रतिशत रहेको छ । यस्तै, लुम्बिनीको १०.३, कोशीको १०.१ र मधेस प्रदेशको ९ प्रतिशत रहेको छ । यस्तै, गण्डकीको ६.९, कर्णालीको १.१ र सुदूरपश्चिम प्रदेशको ३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्