काठमाडौं । नेपाल राष्ट्र बैंक समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरूको सेयरपुँजी घटाउने भएको छ ।
राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समुहले संस्थापक सेयरधनी २५ र साधारण तर्फका १० जनाको सेयरपुँजी घटाउने भएको छ ।
हाल संस्थापकको २१ लाख ३६ हजार ६० कित्ता र सर्वसाधारण सेयरधनीको १२ हजार ६८४ कित्ता सेयर रहेको छ । दुवै गरी २१ लाख ४८ हजार ७४४ कित्ता रहेको छ । राष्ट्र बैंकले अब संस्थापकको २१ हजार ३६० कित्ता र सर्वसाधारण तर्फको १२६ कित्ता कायम गर्ने भएको छ । दुवै समूहको गरेर अब २१ हजार ४८६ कित्ता कायम गर्ने भएको छ ।
पुस १० गते राष्ट्र बैंकले गरेको निर्णयानुसार उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी संस्थाको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहबाट भईरहेकोमा सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्दा संस्थाको चुक्ता पुँजी क्षय भएको पाइएको छ ।
दायित्व सम्पत्तिले नखाम्ने देखिएको २५ जना सेयरधनीहरुबाट चुक्ता हुनुपर्ने सेयरपुँजी वापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको छ ।
संस्थाको पुनर्संरचना गर्ने क्रममा ३५ जना सेयरधनीको सेयरपुँजी राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ को उपदफा (१) को खण्ड (च) तथा खण्ड (ज) र दफा ८६ ज बमोजिम घटाई १ (एक) प्रतिशत कायम गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्