काठमाडौं । एसएमसी मोबोइल एप्लिकेशन मार्फत अनलाइन स्क्यामिङ गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले यो ठगीमा संलग्न १ चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार चितवन जिल्ला खैरहनी नगरपालिका–६ मा एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टर प्रालि नामक कम्पनीको आवरणमा करिब ७० हजार नेपालीलाई ठगी सञ्जालमा जोडडने गिरोहलाई ब्यूरोले पक्राउ गरेको प्रवक्ता दिपकराज अवस्थीले बताए ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय ही जियाङजियाङ रहेका छन् । उनलाई काठमाडौंको ठहिटीस्थित होटल दि युनिभर्सलबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्ने अन्य सबै नेपाली रहेका छन् । जसमा रामेछापका मिलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोटका बीर बहादुर तामाङ, चितवनकी सोनम खातुन, टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ र धादिङकी गीता गुरुङ रहेका पर्साकी नासिर मिया अन्सारी, पर्साकै सायरा खातुन र बाराका राम निवास प्रसाद रहेका छन् ।
यो गिरोहले ठगेको भन्दै ब्यूरोमा २५५ वटा उजुरी परेको थियो । उक्त उजुरीमा १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ ठगी भएको उल्लेख छ । यो गिरोहले एसएमसीएन एड्भरटाइजिङ सर्भिस कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको भनेर झुटा आश्वासन दिएर ठग्ने गरेको प्रहरीले जनाएको छ ।
यो समूहले विश्व प्रसिद्ध फिल्म कम्पनीहरु (युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नी) जस्ता चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुठो आश्वासन दिने गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्