कयौँ महिनासम्म अमेरिकी गुप्तचर निकायले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको हरेक गतिविधिमा निगरानी राखिरहेका थिए।
यो एक सानो टोली थियो, जसमा भेनेजुएला सरकारभित्रैका एक स्रोत पनि सामेल थिए। उच्च सैन्य अधिकारीहरूका अनुसार ६३ वर्षीय मादुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे र यहाँसम्म कि “उनका पालेका जनावरहरू” सम्ममा पनि यो टोलीले नजर राखिरहेको थियो।
त्यसपछि डिसेम्बरको सुरुवातमा “अपरेशन एब्सोल्युट रिजोल्भ” नामक मिसनलाई अन्तिम रूप दिइयो। यो महिनौँसम्म सूक्ष्म रूपमा बनाइएको योजना र अभ्यासको परिणाम थियो, जसमा अमेरिकाका एलीट सैनिकहरूले काराकासस्थित मादुरोको सुरक्षित ठिकानाको नक्कल बनाएर प्रवेशका मार्गहरूबाट छिर्ने अभ्यास गरेका थिए।
यो योजना पूर्ण रूपमा गोप्य राखिएको थियो। कांग्रेसलाई यसबारे पहिल्यै कुनै जानकारी दिइएको थिएन र न त कुनै सल्लाह लिइएको थियो। सबै ठ्याक्कै विवरण तय भइसकेपछि शीर्ष सैन्य अधिकारीहरू सही समयको पर्खाइमा मात्र थिए।
यो अपरेशन शीतयुद्धपछिको कालखण्डमा ल्याटिन अमेरिकामा अमेरिकाको एक असाधारण सैन्य हस्तक्षेप थियो।
अधिकारीहरूका अनुसार शनिबार उनीहरू अचानक आक्रमण गर्न चाहन्थे। चार दिनअघि जब ट्रम्पले यस अभियानलाई स्वीकृति दिए, त्यतिबेलै सुरु गर्ने प्रयास भएको थियो। तर पछि राम्रो मौसम र कम बादल हुने अवस्थाको प्रतीक्षा गर्ने निर्णय गरियो।
अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जनरल ड्यान केनले शनिबार बिहान आयोजित प्रेस सम्मेलनमा भने, “क्रिसमस र नयाँ वर्षको अवधिमा अमेरिकी सेनाका महिला र पुरुषहरू हप्तौँसम्म पूर्ण तयारीका साथ बसेर, धैर्यपूर्वक सही संकेत र राष्ट्रपतिको आदेशको प्रतीक्षा गरिरहेका थिए।”
अन्ततः शुक्रबार राति स्थानीय समयअनुसार १० बजेर ४६ मिनेटमा राष्ट्रपतिबाट मिसन सुरु गर्ने आदेश आयो। शनिबार बिहान रातभर चलेको कारबाहीपछि केही घण्टामै ट्रम्पले ‘फक्स एन्ड फ्रेन्ड्स’सँग भने, “हामी यसलाई चार दिनअघि, तीन दिनअघि वा दुई दिनअघि पनि गर्न सक्थ्यौँ। तर अचानक अवस्था ठीक भयो र हामीले भन्यौँ– जाऊ, गर।”
जनरल केनका अनुसार ट्रम्पले भनेका थिए, “उहाँले हामीलाई भन्नुभयो र हामी यसको कदर गर्छौँ… शुभकामना, तपाईंहरू सफल हुनुहोस्।”

ट्रम्पको आदेश काराकासमा मध्यरात हुनुभन्दा केही अघिमात्र आएको थियो, जसले सेनालाई अँध्यारोमै काम गर्न लगभग पूरै रात दिएको थियो।
त्यसपछि जे भयो, त्यसले वासिङ्टन मात्र होइन, संसारभरिका धेरैलाई चकित बनायो। यो हावा, जमिन र समुद्रबाट सञ्चालन गरिएको अपरेशन थियो, जुन २ घण्टा २० मिनेटमै सम्पन्न भयो। यसको आकार र सटीकताका हिसाबले यो लगभग अभूतपूर्व मानियो।
यसपछि धेरै क्षेत्रीय शक्तिहरूले यसको निन्दा गरे। ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले भेनेजुएलाका नेतालाई हिंसात्मक तरिकाले पक्राउ गर्नु “सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि अत्यन्त खतरनाक मिसाल” भएको बताए।
ट्रम्पले यो मिसन ह्वाइट हाउसको सिचुएसन रुमबाट निगरानी गरेका थिएनन्। बरु उनी फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार-ए-लागो क्लबमा आफ्ना सल्लाहकारहरूसँग थिए, जहाँ उनले सीआईए निर्देशक जोन र्याट्क्लिफ र विदेशमन्त्री मार्को रुबियोसँग बसेर अभियानको प्रत्यक्ष प्रसारण हेरे।
शनिबार ट्रम्पले भने, “यो हेर्न अविश्वसनीय थियो। म यसलाई साँच्चै टिभी शो हेरेजस्तै हेर्दै थिएँ। उनीहरूको गति र हिंसा देख्नुभएको भए… यो साँच्चै अचम्मको थियो, यी मानिसहरूले अद्भुत काम गरे।”
पछिल्ला महिनाहरूमा हजारौँ अमेरिकी सैनिकहरू यस क्षेत्रमा तैनाथ गरिएका थिए। एक विमानवाहक जहाज र दर्जनौँ युद्धपोतसहित यो दशकौँकै सबैभन्दा ठूलो सैन्य जमावडा थियो। राष्ट्रपति ट्रम्पले मादुरोमाथि लागुऔषध तस्करी र ‘नार्को–आतंकवाद’को आरोप लगाउँदै क्षेत्रका कथित ड्रग्स बोकेका दर्जनौँ डुंगाहरू नष्ट गराएका थिए।
तर “अपरेशन एब्सोल्युट रिजोल्भ” का प्रारम्भिक संकेत आकाशमै देखिन थाले। अमेरिकी अधिकारीहरूका अनुसार बमवर्षक, लडाकु विमान र निगरानी विमानसहित १५० भन्दा बढी विमान रातभर तैनाथ गरिएका थिए।
ट्रम्पले फक्स न्युजसँग भने, “यो अत्यन्त जटिल थियो। सम्पूर्ण युद्धाभ्यास, अवतरण, विमानहरूको संख्या—हरेक सम्भावित अवस्थाका लागि हामीसँग एउटा लडाकु विमान तयार थियो।”
स्थानीय समयअनुसार करिब ०२:०० बजे काराकासमा शक्तिशाली विस्फोटको आवाज सुनियो र शहरमाथि धुवाँका मुस्लाहरू देखिए। पत्रकार आना भेनेसा हेरेरोले बीबीसीलाई भनिन्, “मैले एकदमै ठूलो आवाज सुनेँ, विस्फोट भयो। सबै झ्यालहरू हल्लिए। त्यसपछि मैले विशाल धुवाँको बादल देखेँ, जसले लगभग सम्पूर्ण दृश्य ढाकेको थियो।”
उनका अनुसार सहरभरि विमान र हेलिकप्टरहरू उडिरहेका थिए। चाँडै नै सामाजिक सञ्जालमा धेरै भिडियोहरू फैलिन थाले, जसमा आकाशमा उडिरहेका विमानहरू र विस्फोटपछि देखिएको अवस्था देखिन्थ्यो। एउटा भिडियोमा हेलिकप्टरहरूको समूह काराकासमाथि न्यून उचाइमा उडिरहेको देखिन्थ्यो भने तल विस्फोटबाट उठेको धुवाँ देखिन्थ्यो। एक प्रत्यक्षदर्शी ड्यानिएलाले बीबीसीलाई भनिन्, “करिब ०१:५५ बजे विस्फोटको गर्जन र काराकासमाथि उडिरहेका विमानहरूको आवाजले हामी ब्युँझियौँ। सबैतिर अन्धकार थियो, केवल नजिकै भइरहेका विस्फोटको चमक मात्र देखिन्थ्यो।”
उनले थपिन्, “छिमेकीहरूको ग्रुप च्याटमा सबैले एकअर्कालाई सन्देश गरिरहेका थिए। सबै अलमलमा थिए, कसैलाई पनि के भइरहेको छ भन्ने थाहा थिएन र सबै विस्फोटबाट डराएका थिए।”
बीबीसी भेरिफाइले काराकासका विभिन्न क्षेत्रहरूमा विस्फोट, आगो र धुवाँ देखाउने धेरै भिडियोहरूको जाँच गरेको छ र अमेरिकी अपरेशनका क्रममा कुन–कुन स्थानलाई निशाना बनाइयो भन्ने पत्ता लगाउने प्रयास गरेको छ।
अहिलेसम्म बीबीसी भेरिफाइले पाँच स्थानको पुष्टि गरेको छ, जसमा जनरलिसिमो फ्रान्सिस्को दे मिरान्डा एयर बेस, ला कार्लोटा विमानस्थलक्षेत्र र काराकासलाई क्यारिबियन सागर जोड्ने पोर्ट ला गुआइरा समावेश छन्।
अधिकारीहरूका अनुसार केही हवाई आक्रमणमा एयर डिफेन्स सिस्टम र अन्य सैन्य ठिकानाहरूलाई निशाना बनाइयो। ट्रम्पले मिसन सुरु हुनुअघि काराकासको बिजुली काटिएको संकेत पनि दिए, तर कसरी भन्ने खुलाएनन्।
उनले भने, “हाम्रो विशेष क्षमताका कारण काराकासको बिजुली ठूलो मात्रामा बन्द गरिएको थियो। त्यहाँ अँध्यारो थियो र त्यो घातक सावित भयो।”
काराकास वरिपरि आक्रमणको आवाज गुञ्जिरहँदा, त्यही समयमा अमेरिकी सैनिकहरू शहरभित्र प्रवेश गरिरहेका थिए। बीबीसीका अमेरिकीसाझेदार सीबीएसका स्रोतहरूका अनुसार यसमा अमेरिकी सेनाको शीर्ष विशेष मिसन युनिट ‘डेल्टा फोर्स’का सदस्यहरू पनि सामेल थिए।
उनीहरू भारी हतियारले सुसज्जित थिए र आवश्यक परेमा मादुरोको सेफ हाउसका फलामे ढोकाहरू काट्न ब्लोटर्च पनि बोकेका थिए।
जनरल केनका अनुसार स्थानीय समयअनुसार ०२:०१ बजे आक्रमण सुरु भएको केही समयमै सैनिकहरू मादुरोको ठिकानामा पुगे। ट्रम्पले त्योसुरक्षित ठिकानालाई काराकासको बीचमै रहेको कडा सुरक्षा भएको सैन्य “किल्ला”को रूपमा वर्णन गरे।
उनले भने, “उनीहरू पूर्ण तयारीमा थिए र हाम्रो प्रतीक्षा गरिरहेका थिए। उनीहरूलाई थाहा थियो हामी आउँदैछौँ।”
सैनिकहरू पुग्नेबित्तिकै उनीहरूमाथि गोलीबारी सुरु भयो र एउटा अमेरिकी हेलिकप्टरलाई पनि निशाना बनाइयो, तर त्यो सुरक्षित रूपमा उड्नसफल भयो।
जनरल केनले भने, “मादुरोलाई पक्राउ गर्ने टोली उनको परिसरमा उत्रियो र तीव्रता, सटीकता र अनुशासनका साथ अगाडि बढ्यो।”
ट्रम्पका अनुसार, “उनीहरू सिधै भित्र छिरे र ती स्थानहरूमा पनि पसे जहाँ पस्न सजिलो थिएन, जस्तै विशेष रूपमा जडान गरिएका स्टिलका ढोकाहरू।”
यस अपरेशनमा मादुरोकी पत्नी सिलिया फ्लोरेस पनि पक्राउ परिन्।
अपरेशन चलिरहँदा विदेशमन्त्री रुबियोले सांसदहरूलाई यस कारबाहीबारे जानकारी दिन सुरु गरेका थिए। पछि कांग्रेसका केही सदस्यहरूलेयस निर्णयप्रति असन्तुष्टि जनाए।
सिनेटका डेमोक्रेटिक नेता चक शूमरले भने, “म स्पष्ट रूपमा भन्न चाहन्छु। निकोलस मादुरो अवैध तानाशाह हुन्। तर कांग्रेसको अनुमति बिना र त्यसपछि के हुन्छ भन्ने विश्वसनीय योजनाबिना सैन्य कारबाही सुरु गर्नु लापरवाही हो।”
शनिबारको प्रेस सम्मेलनमा रुबियोले कांग्रेसलाई पहिले जानकारी दिइएको भए मिसन जोखिममा पर्न सक्थ्यो भने। ट्रम्पले थपे,
“कांग्रेसमा जानकारी चुहिने जोखिम हुन्छ, जुन राम्रो हुँदैन।”
हालका महिनाहरूमा मादुरोले कथित रूपमा क्युबाली अंगरक्षकहरूमाथि बढी निर्भरता बढाएका थिए।
ट्रम्पका अनुसार, जब एलीट अमेरिकी सैनिकहरू मादुरोको परिसरमा प्रवेश गरिरहेका थिए, त्यतिबेला भेनेजुएलाका राष्ट्रपति सुरक्षित कोठातर्फभाग्ने प्रयास गरिरहेका थिए।
उनले भने,
“उनी सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए, जुन सुरक्षित रहँदैनथ्यो, किनकि हामी ४७ सेकेन्डमै त्यो ढोका उडाइदिन सक्थ्यौँ।”
उनले थपे,
“उनी ढोकासम्म पुगे, तर बन्द गर्न सकेनन्। यति छिटो घेरिए कि त्यो कोठामा पस्नै पाएनन्।”
यदि पक्राउको क्रममा प्रतिरोध भएको भए मादुरोलाई मार्न सकिन्थ्यो कि भन्ने प्रश्नमा ट्रम्पले भने, “त्यस्तो हुन सक्थ्यो।”
उनका अनुसार अमेरिकी पक्षका “एक–दुई जना घाइते” भए, तर कुनै सैनिकको मृत्यु भएन। उता भेनेजुएलाका अधिकारीहरूले पनि कुनै मृत्युकोपुष्टि गरेका छैनन्।
यसअघि अमेरिकाले मादुरोको गिरफ्तारीमा सहयोग गर्ने जानकारी दिने व्यक्तिलाई पाँच करोड डलर इनाम दिने घोषणा गरेको थियो।
तर शनिबार बिहान स्थानीय समयअनुसार ०४:२० बजेसम्म मादुरो र उनकी पत्नी अमेरिकी न्याय मन्त्रालयको हिरासतमा थिए र उनीहरूलाईबोकेको हेलिकप्टर भेनेजुएलाको सिमाना बाहिर निस्कँदै थियो। मादुरो दम्पतीलाई न्युयोर्क लगिँदै थियो, जहाँ उनीहरूमाथि आपराधिक मुद्दाचलाइने अपेक्षा गरिएको छ।
करिब एक घण्टापछि ट्रम्पले विश्वलाई उनीहरू पक्राउ परेको खबर दिए। उनले भने, “मादुरो र उनकी पत्नीले अब चाँडै अमेरिकी न्याय प्रणालीको पूर्ण शक्ति सामना गर्नुपर्नेछ।”








प्रतिक्रिया दिनुहोस्