काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि दिन दहाडै कुटपिट गर्ने, मोसो दल्ने, जुत्ताको माला लगाउने, कर्जा तिर्न आउनु पर्ने ऋणी पेट्रोल बोकेर आत्मदाहको धम्की दिँदै आउने गर्न थालेपछि बैंकिङ क्षेत्र थप त्रासमा परेको छ ।
कर्मचारीलाई शाखा कार्यालयमा पठाउन नसक्ने, ऋण लिएका ऋणीसँग ऋणका विषयमा छलफल गर्न जाँदा धम्की दिने, राजनीतिक शक्तिको आडमा हातपात गर्ने, मोसो दल्ने, जुत्तको माला लगाउने जस्ता गतिविधि बढन थालेपछि बैंकिङ क्षेत्र त्रासमा परेको छ ।
सरकारले ओठे बोलीमा बैंक वित्तीय क्षेत्रमा त्रास फैलन नदिने, गलत गर्नेलाई कारबाही गर्ने, निजी क्षेत्रले शान्ति सुरक्षा पाउने, सुरक्षाका सवालमा मनोबल उच्च बनाउने बताउँदै आएपछि वित्तीय क्षेत्रमा भने असुरक्षा बढु्दै गएको छ ।
यस्ता उजुरी प्रहरीमा मात्रै नभएर अब बैंकर्स संघमा पीडित बैंकहरुले दिन थालेका छन् ।
संघका अनुसार संघमा एनआईसी एशिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैकले उजुरी दिएका छन् ।
यही सोमबार दुर्गा प्रसाईं समूहको नागरिक बचाउ अभियानका कार्यकर्तासहित एनआईसी एशिया बैंकको इटहरी शाखामा ऋणी लाल बहादुर पौडेल पेट्रोल बोकेर आत्मदाहको प्रयास गरे । उनको कारण बैंकका कर्मचारी समेत त्रसित बने ।
बर्षौदेखि ऋण नतिरेपछि बैंकले धितो लिलामीमा लगेको थियो । त्यही रिसमा पौडेल पेट्रोल बोकेर बैंकमा गए । त्यस लगत्तै एनआईसी एशिया बैंकले संघमा निवेदन दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले बताए ।
उनले बैंकिङ क्षेत्रमा अराजकता बढेपछि संघमा निवेदन दिएको बताए । ‘यस्ता गतिविधिले कर्मचारीलाई काम गर्न नैतिक, भौतिक रुपमा चुनौती बढेको छ’ उनले भने ।
यस्तै एनआईएमबी बैंकको दाङको घोराही शाखाका कर्मचारी नविन थापा ब्याज नियमित गर्न आग्रह गर्न जाँदा ऋणी भण्डारी सप्लायर्सका सञ्चालकले कुटे । त्यस लगत्तै बैंकले पनि संघमा निवेदन दिएको छ ।
२ वटा निवेदन परेपछि बुधबार संघले बैठक बोलाएको थियो । बैठकले बैंकिङ क्षेत्रमा अराजकता बढेको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर वर्तमान अवस्थाका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।
साथै बैंकका कर्मचारीले शान्ति पुर्वक काम गर्न पाउने वातावरण निर्माण गर्न, स्थानीय स्तरमा हुने कुटपीट जस्ता ज्यादती अन्त्य गर्न माग गर्ने निर्णय भएको बताइएको छ ।
यसका लागि प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिव मानन्धरको संयोजकत्वमा बनेको टाक्स फोर्सले प्रस्ताव तयार पर्ने र प्रधानमन्त्री भेट्न समय लिने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री भेटन जाँदा बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ, लघुवित्त एसोसियसनले संयुक्त रुपमा भेटने तयारी भएको छ । प्रधानमन्त्रीसँगको भेटमा फिल्डमा जाने कर्मचारी, जिल्ला शाखामा भएका कर्मचारीको सुरक्षामा चासोका साथ पेश गर्ने तयारी भएको छ ।








प्रतिक्रिया दिनुहोस्