काठमाडौं । करेन्ट नुडल्स बेच्ने यशोदा फुडस्ले एक वर्षमा ७ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
यस कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख, सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीको व्यापारमा वर्षेनी उल्लेखित सुधार देखिएको छ । कम्पनीको स्पाइसी नुडल्स करेन्टको बजारमा माग उच्च छ । यसैगरी, करेन्टका अन्य प्रडक्टहरूको माग पनि उच्च भएको कारण कम्पनीको व्यापारमा सुधार देखिएको हो ।
कम्पनीको व्यापारमा सुधार देखिए पनि पिबिआईएलडिटि मार्जिन (ब्याज, कर आदि तिर्नु अघिको नाफा) भने घटेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा व्यापारको ७.४३ प्रतिशत यस्तो नाफा गरेको छ । कम्पनीको यस्तो नाफा सन् २०२४ मा ११.४३ प्रतिशत र सन् २०२३ मा १०.६७ प्रतिशत गरेका थिए ।
यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २० करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५० करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको अध्यक्षमा चुन्नाप्रसाद शर्मा रहेका छन् । सन् २०१७ मा स्थापना भएको कम्पनीले इन्स्ट्यान्ट नुडल्स र स्न्याक्स उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनी सन् २०२४ मा यशोदा नुडल्स एन्ड स्न्याक्स प्रालिसँग मर्ज भएको थियो ।
मर्जरसँगै कम्पनीको चाउचाउको सेग्मेन्टको उत्पादन क्षमता बढेको छ । कम्पनीले मर्जरभन्दा अगाडि वार्षिक ३० हजार मेट्रिक टन चाउचाउ उत्पादन गर्दै आएकोमा अहिले वार्षिक ४२ हजार मेट्रिक टन चाउचाउ उत्पादन गर्ने क्षमता राख्दछ ।
यस कम्पनीले स्न्याक्स सेग्मेन्टको पनि क्षमता बढाएको जनाएको छ । कम्पनीले वार्षिक ९ सय मेट्रिक टन उत्पादन गर्दै आएकोमा अहिले ४५ सय मेट्रिक टन स्न्याक्स उत्पादन गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्