काठमाडौं । इथियोपियाले अफ्रिकाको सबैभन्दा ठूलो विमानस्थल बन्ने लक्ष्यसहित शनिबार राजधानी आदिस अबाबाको दक्षिणपूर्वमा पर्ने बिशोफ्टु सहरमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक रूपमा सुरु गरेको छ । निर्माण सम्पन्न भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र हुने सरकारको दाबी छ ।
यस महत्त्वाकांक्षी परियोजनाको कुल लागत करिब १२ अर्ब ७० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस विमानस्थलले वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्नेछ । परियोजना सम्पन्न गर्न करिब पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय ध्वजावाहक इथियोपियन एयरलाइन्सको आंशिक लगानीमा निर्माण हुन लागेको बिशोफ्टु हबले हाल राजधानीमा सञ्चालनमा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ । बोले विमानस्थलले अहिले वार्षिक करिब दुई करोड ५० लाख यात्रुलाई मात्र सेवा दिन सक्ने क्षमता राख्दछ ।
प्रधानमन्त्री अबी अहमदले शनिबार यस परियोजनालाई ‘अफ्रिकाको उड्डयन इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना’ का रूपमा उल्लेख गर्दै यसको निर्माण सुरु भएको औपचारिक घोषणा गरे । उनले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्नुभएको सन्देशमा बहु–विमानस्थल रणनीतिले इथियोपियालाई भविष्यमा पनि अफ्रिकाको अग्रणी हवाई यातायात प्रवेशद्वारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभएको छ ।
उनका अनुसार यस परियोजनाले इथियोपियन एयरलाइन्सको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउनेछ । साथै यसले अफ्रिकी मुलुकहरूबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै व्यापार र पर्यटनका मार्गहरूलाई थप मजबुत बनाउनेछ । दीर्घकालीन रूपमा इथियोपियालाई प्रमुख अन्तरमहाद्वीपीय हबको रूपमा उभ्याउने सरकारको विश्वास छ ।
यस विशाल विमानस्थल परियोजनाअन्तर्गत नयाँ हवाई अड्डालाई राजधानीसँग जोड्ने बहु–लेन मोटरवे निर्माण गरिनेछ भने ३८ किलोमिटर लामो उच्च–गतिको रेलमार्ग पनि समावेश गरिएको छ । प्रधानमन्त्री अहमदले उक्त रेलमार्गले प्रतिघण्टा २०० किलोमिटर (१२४ माइल) को गतिसम्म पुग्न सक्ने जानकारी दिए ।
परियोजनाको वित्तीय पक्षमा अफ्रिकी विकास बैंकले ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको छ । साथै इथियोपियाली अधिकारीहरू एसियाली विकास बैंक, युरोपेली लगानी बैंक र अमेरिकी विकास वित्त निगमसँग थप लगानी जुटाउने विषयमा छलफलमा रहेको बताइएको छ ।
अम्हारा र ओरोमिया क्षेत्रहरूमा जारी सशस्त्र द्वन्द्वका बाबजुद पनि इथियोपियाले यस परियोजनामार्फत विदेशी पर्यटन आकर्षित गर्ने अपेक्षा राखेको छ । बिशोफ्टु क्षेत्रमा निर्माण हुन लागेको भविष्यको विमानस्थल ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिनेछ ।
इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत मेसफिन तासेव बेकेलेले गत नोभेम्बरमा बताउनुभए अनुसार यस परियोजनाका कारण करिब दुई हजार ५०० किसान विस्थापित भएका छन्, जसलाई सरकारले गत वर्ष करिब ३५ करोड अमेरिकी डलर खर्च गरेर पुनःस्थापना गरेको थियो ।
करिब १३ करोड जनसङ्ख्या भएको इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पछिल्ला वर्षहरूमा यस मुलुकले ठूला–ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइरहेको छ । गत वर्ष इथियोपियाले महादेशकै सबैभन्दा ठूलो बाँधको औपचारिक उद्घाटन गरेको थियो भने आदिस अबाबा लगायत अन्य प्रमुख सहरहरूमा व्यापक सहरी नवीकरण परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्