काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले मुलुकको आर्थिक विकासको दीर्घकालीन योजना स्थगन भएको जस्तो देखिएको भन्दै त्यसलाई पुनःस्थापना गर्न अब ढिला गर्न नहुने बताएका छन्।
पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै आचार्यले २०४८ सालमा नेपाली कांग्रेसले अघि सारेको आर्थिक उदारीकरण र विकासको मार्ग पछिल्ला वर्षहरूमा कमजोर बनेको उल्लेख गरे। उनले सामाजिक न्याय, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्रलाई पुनः केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए।
आचार्यले पार्टीभित्र अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडिनु अनिवार्य रहेको बताए। “अग्रजको ज्ञानबाट सिक्नुस्, नयाँ पुस्ताका साथीहरूले त्यसलाई आधुनिक सोच र प्रविधिसँग जोड्नुपर्छ,” उनले भने।
उनले आजको महाधिवेशनले विधानअनुसार पार्टी सञ्चालन हुने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा कांग्रेसको नयाँ नेतृत्वले नयाँ विधि र संस्कृतिको स्थापना गर्ने विश्वास व्यक्त गरे। पार्टीभित्र एकतामा जोड दिँदै उनले भने, “कांग्रेसले एउटै पुलमा उभिनुपर्छ, नदी एकातिर बग्ने र साथीहरू अर्कोतिर उभिने अवस्था हुनु हुँदैन।”
पूर्वअर्थमन्त्री आचार्यले भदौ २३ र २४ गतेजस्ता विध्वंसात्मक घटनाहरू फेरि नेपालमा हुन नदिने स्पष्ट प्रतिबद्धता कांग्रेसले गर्नुपर्ने बताए। राजनीतिक अस्थिरताले विकासलाई पछाडि धकेलेको उनको भनाइ थियो।
उनले आर्थिक विकाससँगै सामाजिक न्याय र रोजगारी सिर्जना आजको प्रमुख चुनौती बनेको उल्लेख गर्दै युवा पुस्ताको बढ्दो वैदेशिक पलायन रोक्न अब ठोस नीति र कार्यक्रम आवश्यक रहेको बताए। “आफ्नै देशमा अवसर सिर्जना गर्न नसकेसम्म समृद्धि सम्भव छैन,” आचार्यले भने।
नेपालको वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बेला आएको उनको धारणा थियो। हाल विभिन्न कारणले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा कमजोर बन्दै गएको भन्दै उनले त्यसलाई सुधार्न कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए।
आचार्यले राजनीति केवल विगतका पीडा र घटनाको गाथा गाएर होइन, जनतालाई नयाँ आशा र पुनर्निर्माणको सुनिश्चितता दिने माध्यम बन्नुपर्ने धारणा व्यक्त गरे। “भोट माग्दा सिंहदरबार जलेको कथा सुनाएर होइन, देश कसरी बनाउने हो भन्ने योजना लिएर जानुपर्छ,” उनले भने।








प्रतिक्रिया दिनुहोस्