काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रोविन प्रसाद शेरचनले आफू सक्षम र अब्बल नेतृत्व दिन सक्ने दाबीसहित अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
संघको १२ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका जापान निवासि शेरचन अहिले आफ्नो सचिवालय गठनदेखि टीम विस्तारमा सक्रिय छन्। समावेशी टीम बनाएर चुनावमा होमिने तयारी शेरचनले गरेका छन् ।
आगामी फेब्रुअरीको अन्तिम साता तय भएको निर्वाचनमा अहिलेसम्म उनीसहित बेलायत बस्ने अर्का उपाध्यक्ष डा. हेमराज शर्माले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्षकै लागि अमेरिकाबाट डा. केशव पौडेल पनि मैदानमा उत्रने चर्चा छ । छोटो समयमै विश्वभरका नेपालीमाझ लोकप्रिय बनेका शेरचन एक बलियो दाबेदार हुन् ।
शेरचन सामाजिक कार्यमा परिचित नाम हो। काम खोज्दै ३६ वर्षअघि जापान पुगेका रोविन उतै पढेर त्यहीँ आफ्नो व्यवसाय जमाएर बसेका सफल व्यवसायी हुन् । कतिपयले भने उनलाई हतार गरेको पनि भनेका छन् । अहिले रोविनले विश्वभरका नेपालीसँग सम्पर्क गरिरहेका छन्। सल्लाह–सुझाव मागिरहेका छन् ।
‘कतिपयको मप्रति चिन्ता पनि छ। नयाँ अनुहार, चाँडै भयो कि भन्ने। यो चिन्ता जायज हो,’ शेरचन भन्छन्, ‘तर, मलाई पहिलेदेखि चिन्नेलाई मेरो बारेमा राम्रोसँग थाहा छ। यो अभियानमा मैले पहिलेदेखि सहयोग गदैआइरहेको थिएँ। एघारौं महाधिवेशनमा संसारभरका नेपालीले उत्सापूर्ण माया गर्नु भयो। नयाँ होइन, मेरा त पुरानै अनुहार हो।’
शेरचनलाई लाग्छ– अब कुनै पद लिएर सक्रिय भूमिका निभाउने बेला भइसक्यो। त्यसैले त उनी अध्यक्ष जस्तो जिम्मेवार पदमा जाने निर्णयमा पुगे। संस्थामा लिनलाई होइन दिनलाई जानुपर्छ भन्ने मान्यता उनको छ।
भन्छन्, ‘म सक्षम भइसकेको छु। परेकाबेला सामाजिक कार्यमा सहयोग गर्न कमाएको पनि छु। जन्मभूमि र प्रवासी नेपालीका लागि केही गरौँ भन्ने मेरो इच्छा हो। अबको मेरो बाटो भनेको मात्र समाजसेवा हो। त्यसैले एकपटक नेतृत्व गर्ने निर्णयमा पुगेको हुँ।’
आफन्त, अग्रज र सहपाठीहरूसँगको सल्लाहमा अब नेतृत्वमा पुग्ने यात्रा थालेका रोविनलाई आश छ– धेरै गैरआवासीय नेपालीलाई उनको उम्मेदवारीलाई समर्थन गर्नेछन्। अनि उनले नेपालीकै लागि काम गर्ने एउटा विश्वव्यापी संस्थाको नेतृत्वमा पुग्न सहयोग पाउनेछन्।
सहयोगी भावना र मिलनसार स्वभाव भएका रोविनको उम्मेदवारीलाई अथपूर्ण रुपमा हेरिएको छ। उनको उम्मेदवारीमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन्। सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हौसला बढाइरहेका छन्।
‘जीवनका ३६ वर्ष परदेशी भूमिमा बिताएको छु। तर, नेपाल र नेपालीकै माझमा छु। मैले यहाँ रहेका होस् वा आफ्नै जन्मभूमिमा रहने नेपालीका लागि सकेको सहयोग गरेको छु’, शेरचन भन्छन्, ‘अझै गर्नुपर्ने धेरै काम छन्। देशका लागि गर्नुपर्ने कामहरू छन्। नेपालीका लागि गर्नुपर्ने काम छन्। गैरआवासीय नेपालीका लागि गर्नुपर्ने थुप्रै कामहरू छन्। ’
यसले उनको व्यक्तित्वलाई थप ओजिलो मात्र बनाएको छैन, एनआरएनएको नेतृत्वमा उम्मेदवारी दिने निर्णयलाई सार्थक पनि बनाएको छ।








प्रतिक्रिया दिनुहोस्