काठमाडौ । नेपालस्थित बंगलादेश दूतावासले बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसन (बीपीएमसीए) को सहकार्यमा काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर–२०२६’ आयोजना गरेको छ । फेयरको उद्देश्य नेपाली विद्यार्थीहरूलाई बंगलादेशको मेडिकल शिक्षाबारे जानकारी गराउनु रहेको बताइएको छ ।
फेयरमा बंगलादेशका २० वटा निजी मेडिकल कलेजहरूको सहभागिता रहेको थियो । सहभागी कलेजहरूले नेपाली विद्यार्थी तथा अभिभावकलाई बंगलादेशमा उपलब्ध मेडिकल शिक्षाका अवसर, पाठ्यक्रम, भर्ना प्रक्रिया लगायतका विषयमा आवश्यक जानकारी प्रदान गरेका थिए ।
फेयरको उद्घाटन कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानले नेपाल–बंगलादेशबीचको लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै शिक्षा, विशेषगरी मेडिकल शिक्षाको क्षेत्रमा दुवै देशबीच सहकार्य विस्तार हुँदै गएको बताए ।
उनले गुणस्तरीय शिक्षा, व्यापक क्लिनिकल अभ्यास, किफायती शुल्क, आधुनिक प्रविधियुक्त चिकित्सा पूर्वाधार तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्रीका कारण बंगलादेश अन्तर्राष्ट्रिय मेडिकल विद्यार्थीहरूका लागि विश्वासिलो गन्तव्य बन्दै गएको बताए।
राजदूतले बंगलादेशको मेडिकल पाठ्यक्रम तथा परीक्षा प्रणाली क्यानाडियन प्रणालीमा आधारित रहेको उल्लेख गर्दै यो दक्षिण एसियाका अन्य देशहरूको तुलनामा उत्कृष्ट रहेको दाबी गरे। साथै, भाषा र सामाजिक वातावरणमा समानता भएकाले नेपाली विद्यार्थीहरू बंगलादेशमा अध्ययन गर्दा सहज महसुस गर्ने बताए।
उनका अनुसार बंगलादेशमा अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न प्रकारका रोगको उपचार तथा परीक्षण गर्ने अवसर पाउने भएकाले उनीहरूको क्लिनिकल ज्ञान बलियो हुने गर्दछ । बंगलादेशबाट मेडिकल शिक्षा हासिल गरेका धेरै नेपाली चिकित्सकहरूले नेपालका स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए। विशेषगरी बंगलादेशमा तयार भएका स्नातकोत्तर चिकित्सकहरूको गुणस्तर विश्वभर प्रशंसित रहेको पनि उनले उल्लेख गरे। राजदूतले शिक्षा क्षेत्रमा सहकार्य प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढ गर्न दूतावास प्रतिबद्ध रहेको स्पष्ट पारे।
उद्घाटन सत्रमा बीपीएमसीएका महासचिवले बंगलादेशको मेडिकल शिक्षा प्रणालीबारे विस्तृत प्रस्तुति दिँदै शैक्षिक मापदण्ड, पाठ्यक्रम संरचना, क्लिनिकल एक्सपोजर तथा विद्यार्थी सहायता सेवाहरूको जानकारी गराएका थिए।
फेयरले विद्यार्थी र अभिभावकलाई बंगलादेशी मेडिकल कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरूले भर्ना प्रक्रिया, योग्यता, शैक्षिक कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति, आवास सुविधा तथा बंगलादेशमा विद्यार्थी जीवनसम्बन्धी प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए।
बंगलादेश मेडिकल एजुकेशन फेयरमा विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार ५०० भन्दा बढी नेपाली विद्यार्थीहरूले फेयर अवलोकन गरी कलेज प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए। फेयरलाई समयसापेक्ष र जानकारीमूलक पहलका रूपमा व्यापक प्रशंसा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्