Skip to content

जलविद्युत् र नवीकरणीय ऊर्जाको सदुपयोगबाट नेपाल आत्मनिर्भर बन्न सक्छ : उपराष्ट्रपति

nabil bank

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको प्रभावकारी सदुपयोगमार्फत नेपाल ऊर्जा आत्मनिर्भर मात्र नभई आर्थिक रूपमा समेत सबल राष्ट्र बन्न सक्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरे।

उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् र नवीकरणीय ऊर्जामा अत्यन्तै सम्भावनायुक्त मुलुक भएकाले यस क्षेत्रको विकास र उपयोगलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। ऊर्जा आयातमा परनिर्भरता घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ ऊर्जाको प्रयोग बढाउन सके मुलुकको समग्र विकासमा तीव्रता आउने उनको भनाइ थियो।

उनका अनुसार सस्तो, भरपर्दो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रमा लगानी बढ्ने, रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि हासिल गर्न सहज हुने छ। “पर्याप्त ऊर्जा बिना विकास सम्भव हुँदैन,” उनले भने, “ऊर्जा नै समृद्धिको मेरुदण्ड हो।”

उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउन, वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा पहुँच विस्तार हुँदा सामाजिक न्याय, समान अवसर र समावेशी विकासमा टेवा पुग्ने उनको भनाइ थियो।

नेपालले ऊर्जा क्षेत्रमा लगानी बढाएर भारत, बंगलादेशलगायत छिमेकी मुलुकहरूमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले यसका लागि दीर्घकालीन नीति, स्पष्ट रणनीति र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए।

उपराष्ट्रपति यादवले ऊर्जा उत्पादनमा गुणस्तर, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आधुनिक प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई आत्मसात गर्नुपर्ने बताए। साथै ऊर्जा परियोजनाबाट प्रभावित स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्नुपर्ने र उत्पादनदेखि वितरण, भण्डारण तथा निर्यातसम्म समेटिएको दीर्घकालीन ऊर्जा रणनीति आवश्यक रहेको उनको धारणा थियो।

समारोहमा उनले इप्पानले पछिल्ला दुई दशकभन्दा बढी समयदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै ऊर्जा आत्मनिर्भर, हरित र समृद्ध नेपाल निर्माणका लागि सरकार सधैँ सहकार्यका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life