काठमाडौँ । पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले कानून विपरीत मानिने भित्री कारोबार गर्नेलाई संरक्षण गरेको पाइएको छ । भित्री कारोबार गरेको विषय आफ्नै अध्ययनबाट पुष्टि हुँदा पनि कारबाहीका विषयमा भने बोर्ड मौन छ । भित्री कारोबार गरेको पुष्टी हुँदा पनि तीन वर्षदेखि बोर्ड मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
धितोपत्र ऐन विपरीत कारोबार गर्ने व्यक्ति हुन्, शिवम् सिमेन्टका तत्कालीन अध्यक्ष सुरेन्द्रकुमार गोयल । र, उनलाई जोगाउने निकाय हो, धितोपत्र बोर्ड । गोयल आफू अध्यक्ष भएको समयमा आफ्नो परिवारका चार जना सदस्यले धितोपत्र ऐनविपरीत करोडौंको कारोबार गरेका थिए । जुन बोर्ड आफैले गरेको अध्ययनमा पुष्टि भएको थियो ।
गोयलले तत्कालीन समयमा आफूसँग भएको ४६ लाख ४६ हजार चार सय कित्ता सेयरमध्ये २७ लाख ४३ हजार नौ सय कित्ता सेयर परिवारका सदस्यका नाममा कानून विपरीत नामसारी गरी बिक्री गरेका थिए । जुन धितोपत्र बोर्डको ऐन विपरीत हो । तर यो सबै थाहा पाउँदा पनि धितोपत्र बोर्ड मौन छ ।
विसं २०७८ चैत ८ गते सुरन्द्रकुमार गोगलको परिवारको अंशवण्डा भएको थियो । सुरेन्द्रले २०७८ चैत २३ गते आफूसँग भएको उक्त शेयरमध्ये जेठा दाजु विश्वनाथ गोयलका नाममा २४ लाख २८ हजार ९ सय कित्ता र अनिता गोयलका नाममा ३ लाख १५ हजार कित्ता सेयर नामसारी गरेका थिए ।
साथै सुरेन्द्रले आफू अध्यक्ष भएकै समयमा दाजु स्व. अशोककुमार गोयलकी श्रीमती अनिता गोयललाई २०७६ वैशाख ३० गते ५ हजार ६४० कित्ता सेयर प्रतिकित्ता ४८७ देखि ४९४ रुपैयाँका दरले २७ लाख ६१ हजार ५९० रुपैयाँमा बिक्री गरेको अध्ययनले देखाएको छ । उक्त ५ हजार ६४० कित्ता सेयर २०७५ चैत ५ गते प्राथमिक सेयरमार्फत पाएकी हुन् ।
अनिता गोयलले २०७८ चैत २९ गतेदेखि २०७९ साउन १७ गतेसम्म प्रतिकित्ता ६९० रुपैयाँदेखि १ हजार ११ रुपैयाँसम्म ४ लाख ७२ हजार ९९५ कित्ता सेयर ३९ करोड १२ लाख ४४ हजार २७७ रुपैयाँमा बिक्री गरेको अध्ययनले देखाएको छ ।
यस्तै अनिताले २०७९ वैशाख २२ गते प्रतिकित्ता ८४६ रुपैयाँदेखि ८५१.१ रुपैयाँका दरले ४ हजार कित्ता सेयर ३३ लाख ९४ हजार २ सय रुपैयाँमा खरिद गरेको पाइएको छ । उनले यो अवधिमा अधिकतम ८५१ रुपैयाँमा सेयर किनेर अधिकतम मूल्य १ हजार ११ रुपैयाँमा समेत बिक्री गरेको देखिएको छ ।
सेयर बिक्रीको कथा यतिमा मात्रै सकिँदैन । सुरेन्द्र गोयलकी श्रीमती पुनम गोयलको नामबाट २०७८ चैत २३ गते १९ लाख ४५ हजार २ यस कित्ता सेयर अनिता गोयलको नाममा नामसारी भएको छ ।
विश्वनाथ गोयलले २०७६ वैशाख २९ गते ५ हजार ६४० कित्ता सेयर प्रतिकित्ता ४५० देखि ४५२ रुपैयाँका दरले २५ लाख ४३ हजार २८० रुपैयाँमा बिक्री गरेका थिए । उनले उक्त ५ हजार ६४० कित्ता सेयर २०७५ चैत ५ गते प्राथमिक सेयरमार्फत पाएको उल्लेख छ । उनले २०७८ जेठ २० देखि पुस २९ गतेसम्म २ हजार ५९० कित्ता सेयर प्रतिकित्ता १ हजार ५ सयदेखि १ हजार ७९९ रुपैयाँका दरले ४१ लाख ३८ हजार ३२० रुपैयाँमा बिक्री गरेका थिए ।

विश्वनाथले २०७७ माघ २२ देखि २०७८ असोज १९ सम्म २ हजार ५९० कित्ता सेयर प्रतिकित्ता १ हजार ३८० देखि १ हजार ६४० रुपैयाँसम्म ४० लाख २२ हजार ५७५ रुपैयाँमा खरिद गरेका थिए । उनले अधिकतम १ हजार ६४० रुपैयाँसम्म किनेको सेयर १ हजार ७९९ रुपैयाँसम्म बिक्री गरेका थिए । यस्तै सुरेन्द्रकुमार गोयलकी श्रीमती पुनम गोयलबाट २०७८ चैत २३ गते २३ लाख १४ हजार कित्ता सेयर प्रकाश गोयलको नाममा नामसारी भएको थियो ।
प्रकाश गोयलले २०७५ चैत ५ गते प्राथमिक सेयरमार्फत ५ हजार ६४० कित्ता सेयर पाएका थिए । उनले उक्त सेयर प्रतिकित्ता २०७६ जेठ २ गते प्रतिकित्ता ५४० देखि ५४४ रुपैयाँसम्म बिक्री गरेका थिए । उक्त सेयर ३० लाख ६१ हजार ६०० रुपैयाँमा बिक्री गरेका थिए ।
प्रकाशले २०७९ साउन १८ देखि मंसिर १९ सम्म प्रतिकित्ता ५८८ देखि ८३० रुपैयाँका दरले ३ लाख ३१ हजार ५ कित्ता सेयर २२ करोड ३१ लाख ४३ हजार ९१९.७० रुपैयाँमा बिक्री गरेका थिए ।
विश्वनाथकी श्रीमती शशी गोयलको २०७६ वैशाख ३० गते ५ हजार ६४० कित्ता सेयर प्रतिकित्ता ४९३ देखि ४९५ रुपैयाँका दरले २७ लाख ८५ हजार ८ सय रुपैयाँमा बिक्री भएको थियो । २०७६ वैशाख २९ देखि २०७९ मंसिर १९ गतेसम्म विश्वनाथ र उनकी श्रीमती शशी, अनिता गोयल र भाइ प्रकाश गोयलले ८ लाख २९ हजार १५० कित्ता सेयर ६२ करोड ९६ लाख ७८ हजार ७८७ रुपैयाँमा बिक्री गरेका थिए । यस्तै विश्वनाथ र अनिता गोयलले २०७७ माघ २२ देखि २०७९ वैशाख २२ सम्म ६ हजार ५९० कित्ता सेयर ७४ लाख १६ हजार ७७५ रुपैयाँमा खरिद गरेका थिए ।
उक्त अवधिमा ६३ करोड ७० लाख ९५ हजार ५६२ रुपैयाँको सेयर किनबेच भएको छ । त्यो समयमा सुरेन्द्र गोयल कम्पनीको कार्यकारी अध्यक्ष थिए । गोयलले कानून विपरीत सेयर बिक्री गरेर कम्पनीबाट २०७९ पुस २९ गतेको साधारण सभापछि बाहिरिए ।
सेबोनले गरेको अध्ययनले सुरेन्द्रले नामसारी गरेर दिएको सेयर एकाघरका परिवारका सदस्यले बिक्री गरेको पुष्टि गरेको छ । बोर्डले अध्ययन गरेर गैरकानुनी कारोबार गर्ने गोयललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को दफा २२ को १ (क)मा आयोजना प्रभावित, कर्मचारी वा संस्थापकको रुपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपूर्व संगठित संस्थाको सेयर प्राप्त गरेको सेयरधनी र (ख)मा संस्थापक सेयरधनीका एकाघरको सदस्यले दरखास्त दिन नपाउने व्यवस्था’ गरेको छ ।
त्यती मात्रै होइन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ४६ को उपनियम ८ मा ‘धितोपत्र खरिदका लागि कसैले अनधिकृत तवरबाट आवेदन दिएको पाइएमा वा झुटा विवरण पेस गरेको पाइएमा निष्कासन तथा बिक्री प्रबन्धकले त्यस्तो आवेदन रद्द गरी सो आवेदनबापतको रकम जफत गरी बोर्डले तोकेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । यसरी जम्मा भएको रकम बोर्डले पुँजी बजारको विकास एवं प्रवद्र्धन गर्ने कार्यमा मात्र प्रयोग गर्नुपर्छ’ भन्ने व्यवस्था गरेको छ ।
गोयलको कारोबार यी व्यवस्था विपरीत देखिएको छ । सेबोनको सम्बन्धित शाखाले अध्ययन गरेर कानून विपरीतको कारोबार भएको ठहर गर्दै कारबाही गर्न सिफारिस गर्दा समेत माथिल्लो तहका कर्मचारी तैँ चुप, मैँ चुृप गरेर बसेका छन् ।
गोयल परिवारले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा भएको व्यवस्था विपरीत कारोबार गरेको पाएपछि सेबोनले कारबाहीको दायरामा ल्याउने हो भने विश्वनाथ, शशी, अनिता र प्रकाशले प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत लिएको सेयरको १ करोड ११ लाख ५२ हजार २७० रुपैयाँ पुँजी बजारको विकास एवं प्रवद्र्धन गर्ने कार्यमा प्रयोग गर्न सक्छ । यी तीनै जनाले ५ हजार ६४० कित्ताका दरले सेयर पाएको सेबोनको अध्ययनले नै देखाएको छ । यो विषयमा सेबोन किन मौन रहेको विषयमा यहाँका उच्च पदस्थ कर्मचारी मुख खोल्न चाहेको देखिन्न ।
यस विषयमा जेठो दाजु विश्वनाथ र भाउजू शशी गोयलबाट दोस्रो बजारमा भएको कारोबार ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्था विपरीत’ रहेको स्वयम सेबोनको अध्ययनले देखाएको छ । सोही समयमा भाउजु अनिता गोयलले पटक पटक कारोबार गरेको देखिएको छ । ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्था’ विपरीत रहेको अध्ययनले देखाएको छ ।
त्यति मात्रै होयन उक्त अवधिमा उनका भाइ प्रकाश गोयलले पनि ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्था विपरीत’ कारोबार गरेका थिए ।
कम्पनीको व्यवस्थापक रहेकी उनको श्रीमती पुनम गोयलले ४२ लाख ५९ हजार २ सय कित्तामध्ये अनिता गोयलको नाममा १९ लाख ४५ हजार २ सय कित्ता र प्रकाश गोयलको नाममा २३ लाख १४ हजार कित्ता सेयर अंशवन्डामार्फत नामसारी गरेको अध्ययनले देखाएको थियो । यो कारोबार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्था विपरीत हो ।
कम्पनीका तत्कालीन अध्यक्ष सुरेन्द्रकुमार गोयल, श्रीमती पुनम गोयल, भाइ प्रकाश गोयल, दाजु विश्वनाथ गोयल र भाउजू अनिता गोयलले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्थाविपरीत सेयर कारोबार गरेकोले सबैलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (७) बमोजिमको कारबाही गर्न सिफारिस’ अध्ययन समितिले सिफारिस गरेको छ ।
ऐनको दफा १०१ को दण्ड सजाय खण्डको उपदफा (७)मा ‘यस ऐनअन्तर्गत बनेका नियम वा विनियम वा सो अन्तर्गत जारी कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका सर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ व्यवस्था छ ।
२०७८ चैत २३ गते सुरेन्द्र कुमारले विश्वनाथलाई २४ लाख २८ हजार ९ सय कित्ता, अनितालाई ३ लाख १५ हजार कित्ता र पुनमले अनितालाई १९ लाख ४५ हजार २ सय कित्ता तथा प्रकाशलाई २३ लाख १४ हजार कित्तासहित ७० लाख ३ हजार १ सय कित्ता सेयर हस्तान्तरण गरेको देखिएको छ ।
उनीहरुका परिवारले २०७८ चैत २९ देखि २०७९ मंसिर १९ सम्म ६१ करोड ४३ लाख ८८ हजार १९७ रुपैयाँको सेयर ८ लाख ४ हजार कित्ता सेयर बिक्री भएको पाइएको छ । सोही अवधिमा ४ हजार कित्ता सेयर ३३ लाख ९४ हजार २ सय रुपैयाँको सेयर खरिद–बिक्री भएको पाइएको छ ।
२०७८ चैत २३ गते एकाघरका परिवारका सदस्यको नाममा सेयर नामसारी हुनुअघि २५ हजार १५० कित्ता सेयर १ करोड ५२ लाख ९० हजार ५९० रुपैयाँको बिक्री र २ हजार ५९० कित्ता सेयर ४० लाख २२ हजार ५७५ रुपैयाँमा खरिद भएको थियो । सुरेन्द्र अध्यक्ष भएको समयमा नै परिवारका सदस्यले करिब २ करोड रुपैयाँबराबरको सेयर किनबेच गरेको सेबोनको अध्ययनले देखाएको छ ।
उक्त सेयर के आधारमा सिडिएससीले घरायसी नामसारी गर्न दियो भन्ने प्रश्न पनि उठेको छ । यसले सिडिएससीको भूमिकामा समेत प्रश्न उठेको सेबोनका एक कर्मचारीले बताए ।
यता बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेबोनको ऐन कानून विपरीत भए गरेका सबै कारोबारलाई कानूनी दायरामा ल्याउने दाबी गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्