Skip to content

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव

nabil bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकरावको वातावरणबीच डाभोस पुगेका छन् ।

ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ ।

विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिनअघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरे । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको भविष्यलाई लिएर उनको कडा अडान नै छलफलको केन्द्र बन्ने देखिएको छ । तर स्विस स्की रिसोर्टमा भेला भएका युरोपेली नेताहरूले राष्ट्रपति ट्रम्पको आक्रामक धारणा विरुद्ध एकजुट प्रतिक्रिया जनाउने सङ्केत दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘बदमाशी’ विरुद्ध दृढतापूर्वक उभिने बताए भने युरोपेली सङ्घ (इयु) ले अविचल र सामूहिक प्रतिक्रिया जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

डेनमार्क नाटोको सहयोगी सदस्य रहेको सन्दर्भमा ग्रिनल्यान्ड अधिग्रहणका लागि कति टाढासम्म जान सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति ट्रम्पले ‘तपाईंहरूले पत्ता लगाउनुहुनेछ’ भन्ने जवाफ दिए । ह्वाइट हाउस छोड्दा उनले डाभोस भ्रमणको अन्त्य कस्तो होला भन्ने आफूलाई निश्चित थाहा नभएको स्वीकार गरे । भ्रमणको सुरुआतमै राष्ट्रपतिको जेटमा आएको सानो विद्युतीय समस्याका कारण विमान फर्किनुपरेको थियो र राष्ट्रपति तथा उनको टोली अर्को विमान प्रयोग गर्न बाध्य भएका थिए ।

विश्वका आर्थिक र राजनीतिक नेतृत्वको वार्षिक भेलामा राष्ट्रपति ट्रम्पले छ वर्षपछि पहिलो पटक सम्बोधन गर्न लागे । उनको भाषण स्थानीय समयअनुसार दिउँसो २ः३० बजे तय गरिएको छ । तर ग्रिनल्यान्डसम्बन्धी महत्त्वाकांक्षाका कारण दशकौँयताकै सबैभन्दा ठूलो अमेरिका–युरोप मतभेद सतहमा आएको भन्दै उनले डाभोसमा यस विषयमा धेरै द्विपक्षीय भेटघाट गर्ने बताए ।

रूस र चीनसँगको रणनीतिक प्रतिस्पर्धाका कारण खनिज–धनी ग्रिनल्यान्ड अमेरिका र नाटो सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको राष्ट्रपति ट्रम्पको तर्क छ । पग्लँदो आर्कटिक क्षेत्रमा महाशक्तिहरूबीच प्रभाव विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गएको उनको भनाइ छ । यसै सन्दर्भमा उनले डेनमार्कलाई समर्थन गर्ने आठ युरोपेली देशहरूमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएको छ । जसले युरोपेली पक्षबाट अमेरिकाविरुद्ध प्रतिकारको चेतावनी आएको छ ।

युरोपले अमेरिकी बजारमा ‘व्यापारिक बाजुका’ प्रयोग गर्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले ती धम्कीहरूलाई अस्वीकार गरे । एक अन्तर्वार्तामा उहाँले युरोपले जस्तोसुकै कदम चाले पनि अन्ततः त्यसको असर उनीहरूतर्फै फर्कने दाबी गरे । आगामी केही दिनमै समाधान खोज्न सकिने सम्भावनासमेत उनले औँल्याए ।

मङ्गलबार डाभोसमा राष्ट्रपति म्याक्रोनले अमेरिकी प्रयासले युरोपलाई अधीनमा राख्न खोजेको आरोप लगाउँदै कर धम्कीहरू अस्वीकार्य भएको बताए । राष्ट्रपति ट्रम्पले म्याक्रोनले पठाएको सन्देश सार्वजनिक गरेपछि दुई नेताबीच थप कटाक्षपूर्ण वातावरण बनेको थियो । पछि राष्ट्रपति ट्रम्पले त्यस्तो कुनै बैठकमा सहभागी नहुने बताए भने राष्ट्रपति म्याक्रोनले औपचारिक बैठक तय नभएको स्पष्ट पारे ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिका–युरोप सम्बन्ध ‘तल झर्ने’ जोखिममा रहेको चेतावनी दिए । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने डाभोसमा ग्रिनल्यान्ड र डेनमार्कको पक्षमा स्पष्ट समर्थन जनाउँदै प्रशंसा पाएका छन् । उनले क्यानाडा दृढतापूर्वक डेनमार्क र ग्रिनल्यान्डसँग उभिएको बताए ।

ग्रिनल्यान्डका प्रधानमन्त्रीले मङ्गलबार करिब ५७ हजार जनसङ्ख्या रहेको आफ्नो समुदायलाई सम्भावित सैन्य चुनौतीका लागि तयार रहनुपर्ने बताए । लिथुआनियाका राष्ट्रपति गिटानस नौसेदाले मित्र राष्ट्रविरुद्ध अमेरिकाले कुनै कदम चाले त्यसले ‘नाटोको अन्त्य’ हुनसक्ने चेतावनी दिए ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफूले नाटोका लागि अरू कसैभन्दा बढी योगदान दिएको दाबी गर्दै सहयोगी राष्ट्रहरूको प्रतिबद्धतामाथि प्रश्न उठाए । उनले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि प्रस्तावित तथाकथित ‘शान्ति बोर्ड’ को पहिलो चार्टर घोषणा गर्ने तयारीसमेत गरेका छन् । जसको भूमिका गाजाबाट सुरु भए पनि कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मात्र सीमित नहुने देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life