काठमाडौं । पछिल्लो समय बैंकमा देखिएको चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यसहित एनआईसी एशिया बैंकले हकप्रद सेयर जारी गर्ने योजना राष्ट्र बैंकमा बुझाएको छ । पुँजी संरचना मजबुत बनाउँदै दिगो विस्तारमा जाने लक्ष्यसहित बैंकले उक्त योजना राष्ट्र बैंकका पठाएको हो ।
बैंकले नियामकीय मापदण्डअनुसार पुँजी पर्याप्तता अनुपात कायम गर्न तथा आगामी दिनमा व्यवसाय विस्तारलाई निरन्तरता दिन हकप्रद सेयरलाई प्रमुख विकल्पका रूपमा अघि सारेको बैंकका कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्य बताउँछन् । उनका अनुसार हकप्रद सेयर जारीपछि बैंकको वित्तीय संरचना थप सुदृढ भई जोखिम वहन गर्ने क्षमता बढ्नेछ ।
हकप्रद सेयर निष्कासन पछि एनआईसी एशिया बैंकले दीर्घकालीन सुधार र स्थायित्वलाई केन्द्रमा राख्दै नयाँ रणनीति अघि सार्ने छ। शाक्यका अनुसार पुराना कर्जा (रिकभरी) उठाएर मात्र बैंकलाई उचाइमा पुर्याउन सम्भव छैन। त्यसैले बैंकले संरचनात्मक सुधार, खर्च नियन्त्रण र ग्राहकसँगको सम्बन्ध सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरुलाई पुँजी कोषको दबाबबाट मुक्त गर्न पुँजी वृद्धिको योजना अगाडी बढाउन दिने योजना अघि सारेको छ । तर, राष्ट्र बैंकको सोही व्यवस्थालाई टेकेर यस बैंकले भने हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो ।
राष्ट्र बैंकले ल्याएकाे पुँजी वृद्धिको योजना अनुसार केही बैंकहरुले अभिमोच्य अग्राधिकार सेयर समेत धमाधम जारी गरिरहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार चालु आर्थिक वर्षमा ४ वटा बैंकले अभिमोच्य अग्राधिकार सेयर जारी गर्न अनुमति पाइसकेका छन् । जसमा नबिल बैंक उक्त सेयर निष्कासन गरिसकेको छ भने सिद्धार्थ एनएमबि बैंक र कामना सेवा विकास बैंकले निष्कासनको अनुमति पाइसकेका छन् ।
अभिमोच्य अग्राधिकार सेयर निष्कासन गर्नको लागि एनआईसी एशियालाई बैंकलाई पनि राष्ट्र बैंकले स्वीकृति दिइसकेको श्रोतले बतायो । ‘एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको यस्तो सेयर निष्कासन गर्नको लागि राष्ट्र बैंकले अनुमति दिएको छ ।’ राष्ट्र बैंक श्रोतले बतायो ।
एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंक समक्ष हकप्रद सेयर जारी गर्न पूर्व सहमतिको लागि अनुरोध गरेको छ। बैंकको मिति २०८२ पुस २० गते सम्पन्न सञ्चालक समितिको ७४६ औँ बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. १०-०८१ को बुँदा १७ (ग) बमोजिम हकप्रद सेयर जारी गर्नको लागि राष्ट्र बैंकसँग माग गरेको हो ।
बैंकले हाल कायम रहेको साधारण चुक्ता पुँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भनेको छ। सो अनुपातअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।
बैंकले हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट आवश्यक पूर्व सहमति प्राप्त गर्नका लागि औपचारिक रूपमा अनुरोध गरिसकेको जनाएको छ। राष्ट्र बैंकको सहमति प्राप्त भएपछि उक्त हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभामा पेस गरी स्वीकृति लिइने पनि बैंकले स्पष्ट पारेको छ। बैंकले गत आर्थिक वर्ष २०८१-८२ को वार्षिक साधारण सभामा राइट सेयरको प्रस्ताव पारित गर्ने भएको कारण कम्पनी ऐन अनुसार समयमा साधारण सभाको घोषणा नै गर्न बाँकी रहेको छ ।
यसैगरी, बैंकको देशभर शाखा सञ्जाल अत्यधिक विस्तार भएको भन्दै करिब ४० वटा शाखा मर्जर (एकीकरण) मा लैजाने रणनीति तयार गरिएको छ। यसबाट सञ्चालन खर्च घटाउने, कार्यक्षमता बढाउने र बैंकलाई थप चुस्त बनाउने लक्ष्य लिइएको बैंकको सिईओ शाक्य बताउँछन् ।
त्यसैगरी, बैंकले हाल कायम रहेका ऋणीहरूसँगको सम्बन्ध सुधार गर्न विशेष योजना अघि बढाउने तयारी गरेको उनी बताउँछन् । ऋणीलाई दबाब दिनेभन्दा पनि सूचना, संवाद र सहकार्यमार्फत कर्जा असुली गर्ने नीति अवलम्बन गरिएको उनी बताउँछन् । यही रणनीतिअनुसार एउटै ऋणीलाई ऋण तिर्न प्रोत्साहित गर्न बैंकले ४० पटकसम्म सूचना (नोटिस) दिने गरेको छ।
बैंकले पटक–पटक सूचना दिँदासमेत ऋणीले कर्जा तिर्न नआएमा मात्र कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको बैंक श्रोतले बतायो। साथै, बैंकले नयाँ लगानीकर्तालाई आकर्षित गर्ने खालका कर्जा लगानी बढाउने खालको प्रडक्टहरू ल्याउने तयारी गरेको शाक्य बताउँछन् ।
पुँजी सुदृढीकरण, जोखिम व्यवस्थापन र सेवाको गुणस्तर सुधारमार्फत बैंकलाई पुनः प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको उनले बताए । एनआईसी एशियाले आगामी दिनमा अल्पकालीन लाभभन्दा पनि दीर्घकालीन स्थायित्वमा केन्द्रित राख्ने उनी बताउँछन् ।
पुँजी कोष कम र प्रोभिजन बढ्दा बैंकले वितरण गर्न सकेन ४ वर्ष लाभांश
पुँजी कोष पर्याप्तता नहुँदा र लोन लस प्रोभिजन बढ्दै जाँदा एनआईसी एशिया बैंकले पछिल्ला केही वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन। हालको बैंकिङ क्षेत्रको ऋण नउठ्ने समस्या र खराब कर्जा अनुपात बढ्ने समस्याले बैंक प्रभावित भएको छ । यही कारण बैंकले विगत १० वर्षमध्ये चार आर्थिक वर्ष लाभांश वितरण गर्न सकेको छैन।
बैंकले आर्थिक वर्ष २०७७-७८, २०७८-७९, २०८०-८१ र २०८१-८२ मा कुनै पनि लाभांश घोषणा गर्न नसकेको हो। बैंकको वित्तीय अवस्था कमजोर हुनु, नियामयकी मापदण्डअनुसार पुँजी कोष व्यवस्थापन गर्न नसक्नु तथा सम्भावित जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्दा लाभांश रोकिएको हो।
यस अवधिसम्म बैंकले २ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्टाएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा बैंकले ५९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको भए पनि पछिल्ला वर्षहरूमा बैंकको नाफा निरन्तर घट्दो क्रममा रहेको छ। मंसिर मसान्तसम्म बैंकको गैर बैंकिङ सम्पत्ति (नन–बैंकिङ एसेट) ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको मूल पुँजी २२ अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको छ। सो अवधिमा बैंकको टियर–१ पुँजी अनुपात ९.०३ प्रतिशत र टियर–२ पुँजी अनुपात १४.०३ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले प्राथमिक पुँजीकोष अनुपात न्यूनतम ८.५ प्रतिशत र पूरक पुँजीकोष अनुपात न्यूनतम ११ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकले ०.५ प्रतिशत काउन्टर–साइक्लिकल बफर थप गर्ने व्यवस्था गरे पनि हालसम्म उक्त व्यवस्था कार्यान्वयनमा आएको छैन।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकको खराब कर्जा अनुपात (एनपीएल) ६.९९ प्रतिशत पुगेको छ। बैंकको बेसरेट ६.६० प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत रहेको छ। चालु आवको तीन महिनामा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियाे) ६६.८२ प्रतिशत रहेको छ।
मंसिर मसान्तसम्म एनआईसी एशिया बैंकले ३ खर्ब ३० अर्ब ३० करोड ९७ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने सोही अवधिमा २ खर्ब १८ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कुल कर्जा लगानीमध्ये २ खर्ब १४ अर्ब २० करोड रुपैयाँ निजी क्षेत्रतर्फ प्रवाह गरिएको छ । बैंक तथा वित्तीय संस्थामा भने ४ अर्ब १६ करोड ६० लाख रुपैयाँ मात्र कर्जा लगानी भएको छ भने सरकारी संस्थातर्फ यस बैंकको कुनै पनि लगानी छैन।
के भन्छ राष्ट्र बैंक ?
तत्काल बैंकहरुलाई हकप्रद सेयर निष्कासन गर्न दिन सक्ने सम्भावना न्यून रहेको राष्ट्र बैंक स्रोत बताउँछ । राष्ट्र बैंकले सकेसम्म बैंक तथा वित्तीय संस्थालाई ‘रिकभरी’ नै केन्द्रीत गर्ने स्रोतको दाबी छ । बैंकहरुले अहिलेको समयमा राइट सेयर ल्याउनु भन्दा उत्तम विकल्प रिकोभरी गरेर प्रोभिजन ब्याक गर्नु रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७ अर्ब ४५ करोड ७८ लाख ३४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न माग गरेको छ । उक्त रकमको हकप्रद सेयर निष्कासन गर्दा ५१ प्रतिशत अर्थात ३ अर्ब ८० करोड ३४ लाख रुपैयाँ संस्थापक सेयरधनीले लगानी गर्नुपर्छ ।
बैंकले अन्य विकल्प हुँदा हुँदै हकप्रदको विकल्प रोज्नु, बैंकको आरओई न्यून भएको समयमा संस्थापक सेयरधनीले उक्त रकमको हकप्रद सेयर खरिद गर्ने हुन की हैनन ? भन्ने प्रश्न उब्जिरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
हकप्रद सेयर निष्कासन अनुमति दिएपछि भोलीका दिनमा संस्थापकले प्रयाप्त सेयर खरिद नगरेर लिलामीमा लैजानु पर्ने र त्यो सेयर सर्वसाधारणले खरिद गर्नुपर्ने हो की भन्ने चिन्ता रहेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
यसैगरी, पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अभिमोच्य अग्राधिकार सेयर निष्कासनका लागि पनि अनुमति दिइरहेको छ। एनआईसी एशिया बैंकले पनि यस्तो सेयर ५ अर्ब रुपैयाँ बराबरको निष्कासन गर्नको लागि राष्ट्र बैंकबाट स्वीकृत पाईसकेको छ ।








प्रतिक्रिया दिनुहोस्