काठमाडौ । काठमाडौ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ ।
यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइनेछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्छन्, ‘उमेर समूह, शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गराउन साटफेर हुन सक्छ ।’
यसअन्तर्गत सिंहदरबार भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरु मर्मत थालिएको छ । यस ठाउँमा २ प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिनुभयो । यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिने उहाँको भनाइ छ ।

महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ । २०८१ साल असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । यी कुर्सीहरु १ दशमलव ५ मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् । यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य १८ हजार ६५५ रुपियाँ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन् । यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायतका ठाउँमा राखिएका थिए ।
दोस्रो चरणमा ४९ प्राप्त भएका छन् । यी कुर्सीहरु नापी विभाग, तीनकुने कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर ववरमहल, कलपोखरीलगायत स्थानमा राखिनेछन् । ट्याक्टिकल अर्वानिजमअन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी प्राप्त हुनेछन् । यी कुर्सीहरु माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिनेछन् ।








प्रतिक्रिया दिनुहोस्